जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

रासस
वैशाख ३, २०७७
ND_KTM(4)

बिरामीलाई औषधि र खानेकुरा पुर्याउन जाने रोबोट तयार पार्दै इन्जिनियर । फ्याँकिएका ट्रली प्रयोग गरेर सो रोबोट तयार हुँदैछ । तस्वीरः नारायण ढुङ्गाना

त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ। दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् । एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरूपमा उत्पन्न हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन । आखिर के छ त रु विश्वविद्यालय परिसरमा ।

जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गर्नुभएको छ । केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् । केन्द्रका प्रमुख पुन पोखरामा हुनुहुन्छ तर उहाँ पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको काम कारवाहीको बारेमा उहाँले श्रव्यदृश्य माध्यमबाट निगरानी मात्रै गर्नुहुन्न, निर्देशनसमेत दिनुहुन्छ । “तिमी केटाहरूले सङ्कटको समयमा पार लगाउन सक्छौं, कि सक्दैनौँ, नेतृत्व क्षमता देखाउन सक्छौं, कि सक्दैनौँ भनेर जिम्मा नै दिनुभएको छ पुन सरले”, आविष्कार केन्द्रमा संयोजन गरिरहनु भएका इन्जिनीयर शङ्कर ढकालले भन्नुभयो ।

कोरोनाको सङ्क्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रूपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले । पीपीई मिलाउने र पट्याउने काममा विगत १० दिनदेखि खटिइरहनु भएका पर्वतका अमबहादुर रोकालाई पनि सङ्कटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन ।

कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पुर्याउन रोबोट बन्दैछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत छ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन । फ्याकिएका सामान नै प्रयोग गरेर रोबोट तयार हुँदैछ । सोमबार डेमो गरिसकिएको छ । “स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छौँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन”, ढकालले भन्नुभयो ।

रोबोट अबको तीन दिनमा तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ । वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबोट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई । कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पुर्याउनसमेत सहज होओस् भनेर नै रोबोट तयार पारिएको इन्जिनीयर कार्कीले बताउनुभयो ।

सब्जी कोठी
इन्जिनीयर गौरव दासको चटारो पनि उस्तै छ । दासलगायतको समूहले सब्जी कोठी बनाइरहेको छ । किसानले तरकारी १० देखि ४० दिनसम्म जस्ताको तस्तै राख्न सक्छन् कोठीमा । गाडीबाट घरघरमा पुर्याएर बिक्री गर्नसमेत सकिन्छ । त्यसमा डिस इन्फेक्सन च्याम्बर राखिएको छ । त्यसले जुनसुकै भाइसर पनि मारिदिनसक्छ । त्यसभित्र एक प्रकारको कृत्रिम ओजन तह बनाइएको छ ।

“योसँगै गौरवकै नेतृत्वमा पीपीई, ग्लोब्स, मास्क डिसइन्फेक्सन गर्ने यन्त्रको आविष्कार गरिरहेको छ । काम अन्तिम चरणमा रहेको छ । एक प्रकारको अल्ट्रा भाइलेट रे युक्त (यूभी) बनाइँदै छ । त्यो झण्डै ओभन जस्तै हुन्छ । केही दिनमा तयार हुँदैछ”, दासले भन्नुभयो । त्यसभित्र एक प्रकारको बक्सा हुन्छ । त्यहाँ राखेपछि एक पटक प्रयोग गरिएका सामान फेरि प्रयोग गर्न सकिने गरी भाइरसरहित बनाइन्छ । व्यक्तिगत स्वास्थ्य एवं सुरक्षात्मक सामग्रीको अभाव भइरहेको बेलामा निर्मलीकरण गरेर पनि प्रयोग गर्नसक्ने ओभन जस्तै यूभी बनाउन लागिएको दासले जानकारी दिनुभयो ।

जनकपुर निवासी २६ वर्षका गौरव मेकानिकल इन्जिनीयर तथा जुनियर वैज्ञानिक पनि हुनुहुन्छ । दुई वटा शोधको त उहाँसँग ‘प्याटेन्ट राइट’ नै छ । सब्जी कोठी र दर्जी उहाँको प्याटेन्ट राइट भएका अविष्कार हुन् । दास थापाथली इन्जिनीयरिङ अध्ययन संस्थानका विद्यार्थी हुनुहुन्छ ।

स्यानिटाइजिङ टनेल
स्यानिटाइजिङ टनेल पनि गौरव कै नेतृत्वमा बनिरहेको छ । के छ त यसको विशेषता रु हाम्रो प्रश्न थियो, दासलाई । बिरामी, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले आवतजावत गर्दा, बाहिर गएर आउँदा त्यो टनेलले पूरै शरीर ‘स्यानिटाइज’ गर्छ । त्यस्तै खालको टनेल टेकु अस्पतालमा जडान गरिएको छ । त्यो आयातित हो । दासको समूहले फालिएका र काम नलाग्ने सामग्रीबाटै टनेल बनाइएको हो । सो मेशिनले हातमा स्यानिटाइजर गरे झैँ पूरै यसबाट शरीरलाई स्यानिटाइज गर्न सकिन्छ । जसले गर्दा एक मानिसबाट अर्को मानिसमा भाइरस सर्न पाउँदैन । मेसिनले नै शरीरमा एकैचोटी स्वानिटाइज गर्ने प्रविधि यसमा जडान गरिएको छ ।

एम्बु ब्याग
आविष्कार केन्द्रमा निर्माण भइरहेको अर्को सामग्री हो एम्बु ब्याग ।

बिरामीको उपचारका क्रममा अक्सिजन दिन प्रयोग हुने स्वचालित एम्बु ब्याग (रेसुसिटेटर) निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर शंकर ढकाल ।

अहिले पनि कतिपय ठाउँमा अक्सिजन दिँदा म्यानुअल पम्पिङ गर्ने गरिन्छ । अस्पतालमा अब यो तयार भएपछि मेसिनले अटोमेटिक रूपमा पम्प गर्छ । भेन्टिलेटरमा यो खालको मेशिन राख्दा झनै प्रभावकारी हुन्छ । अस्पतालमा वा एक ठाउँबाट अर्को ठाँउमा बिरामी लैजाँदा एम्बु व्यागले ठूलो काम गर्छ । गम्भीर बिरामीलाई अक्सिजन पम्पिङ गर्दा हात प्रयोग गर्नु पर्दैन । सिधै मेशिनले गर्न मिल्ने गरी यो बनाउन लागिएको हो । हाल त्यस्तो खालको ब्याग देशभरी जम्मा ५०० मात्रै होला ढकालको दाबी छ।

एरोसल बक्स
कोरोनाको शङ्का लागेका बिरामीको स्वाब परीक्षणका क्रममा सबैभन्दा बढी सक्रमणको जोखिममा चिकित्सक नै हुन्छ । उपचारका क्रममा बिरामीले वाकवाक गर्छ, ह्याच्छयूँ गर्छ, त्यसबेला त्यो थुक चिकित्सक नर्ससम्म आउन नदिनका लागि नयाँ बाकस आविष्कार गरिएको ढकाल बताउनुहुन्छ । जसको नाम ‘एरोसल बक्स’ राखिएको छ । एउटा बाकसमा सिसा लगाइएको हुन्छ । हात छिर्न मिल्ने गरी दुई वटा प्वाल बनाइएको छ । बिरामी बेडमा रहेको बेलामा आवश्यक परीक्षण र उपचारका क्रममा यो बक्स प्रयोग गरिन्छ । विभिन्न अस्पतालबाट यसको माग भइरहेको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेज र शिक्षण अस्पतालबाट समेत माग आइसकेको छ।

पीपीई बुथ
केन्द्रले तयार पारेको अर्को आविष्कार हो, पीडीई बुथ । कोरोनाभाइसर स्याम्पल कलेक्सन बुथ (पीपीई बुथ) को रुममा पनि त्यसलाई लिन सकिन्छ । यो एउटा ठूलो बक्सा हो । बक्साभित्र चिकित्सक बस्छन् । बक्साको एक भागमा सिसा राखिएको हुन्छ । सिसामा दुई वटा हात छिराउन मिल्ने प्वाल राखिएको छ । रबर पञ्जामा पीपीईको कपडा जोडेर बनाइएको नयाँ पञ्जा त्यस प्वालमा जोडिन्छ । त्योभन्दा बाहिर प्लाष्टिकको नयाँ पञ्जा प्रयोग हुन्छ । हात छिराएर पञ्जामार्फत चिकित्सकले बिरामीको आवश्यक परीक्षण गर्नसक्छन् । यसरी परीक्षण गर्दा सिसाबाट भाइरसभित्र छिर्न पाउँदैन ताकी चिकित्सकसम्म भाइरस जान पाँदैन र सर्ने सम्भावना कम हुन्छ । विश्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोग सरेको र कयौँको मृत्युसमेत भइसकेको अबस्थामा यसले रोग सर्नबाट रोक्नसक्ने गरी प्रविधिको विकास गरिएको ढकालको भनाइ छ ।

कोरोना भाइसर स्याम्पल कलेक्सन बुथ (पिपिई बुथ) को बारेमा जानकारी दिँदै इन्जिनियर शंकर ढकाल ।

उक्त बुथको अर्को साइटमा छ मिटर लामो पाइप राखेर उपयुक्त फ्यान राखिएको छ । जसले दूषित हावा बाहिर फाल्छ भने ताजा हावा चिकित्सकसम्म पु¥याउँछ । कतिपय ठाउँमा प्रयोग गरिएको बुथहरू सुरक्षात्मक नभएकाले हटाउन भनिसकिएको ढकालले बताउनुभयो ।

पीपीई
आविष्कार केन्द्रमा पीपीईको विज्ञ कोही पनि थिएनन् तर अवस्थाले पीपीई विज्ञ बनाइदियो । समस्या आइसकेपछि पीपीईबाट काम शुरु गर्ने निर्णय भएको ढकालको भनाइ छ । “त्यसको माग बढी थियो । चिकित्सक नै सङ्क्रमित भए भने धेरैलाई प्रभावित पार्ने भयो भनेर हामीले त्यसको अनुसन्धान थाल्यौँ”, ढकालले भन्नुभयो, “वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना मगाएर हेरियो । त्यो हेर्दा वाटर पेनिटेसन थिएन । पानी छिर्ने भेटियो । त्यसपछि अनुसन्धान टोलीले विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनको अध्ययन गरियो ।” गाइडलाइनमा भनिएको थियो वाटर प्रुफ्ट, एयर प्रुफ्ट र भाइसर प्रोटेक्टिभ हुनुपर्छ पीपीई । त्यसपछि हामीले कुन कपडा कस्तो छ भनेर हामीले खोजी ग¥यौँ । “डबल लेयर, रबराइज, टाफेटा भन्ने फ्यावरिक पत्ता लाग्यो । यो फेवरिक जापानको उत्पादन हो । कम्पनीले नै भाइरस प्रोटेक्टिभ भनेर प्रमाणित गरेको कपडा हो ।”

तयार भएको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) व्यवस्थापन गर्दै स्वयंसेवक अमबहादुर रोक्का । यहाँ दैनिक सयौँ पिपिई निर्माण भइरहेको छ ।

पहिले प्रयोग भइरहेका पीपीईमा हाई प्रेसरमा पानी पठाउँदा पानी पस्ने गरेको पाइयो भने यो पीपीईमा भने जति प्रेसर गर्दा पनि पानी नपसेको ढकालको भनाइ छ । गुणस्तर विभागले मापदण्ड हेरेर ठीक छ भनेको छ । केन्द्रले विभागलाई नमूना दिएर आवश्यक प्रस्तुति गरेरै काम गरेको हो । पीपीई आवश्यक डिजाइन गरेर निश्चित टेलरमा सिलाउने गरिएको छ । विभागको सुझावको आधारमा पानी नपस्ने खालको र एयर प्रुफ जीफर प्रयोग गरिएको छ । “सकेसम्म कम सिलाउने गरिएको छ । सिलाएको ठाउँमा समेत पानी र हावा छिर्न नसक्ने गरी टेप लगाइएको छ । सकेसम्म साइन्टिष्ट र मेडिकल विद्यार्थीबाट मेहनत गरेर बनाएका छौँ” ढकालले भन्नुभयो ।

अहिलेसम्म दुई हजार ८०० भन्दा बढी बनाएर निःशुल्क रूपमा वितरण गरिसकेको छ, केन्द्रले । सातै प्रदेश र ७७ वटै जिल्लामा पुगेको छ केन्द्रको पीपीई । माग बढ्दो छ । अझै तीन, चार हजार माग छ ढकालले आँकडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “टेप र जिफर सरकारले उपलब्ध गराइदियो भने नेपाललाई चाहिने सबै पीपीई हामी उत्पादन गर्न सक्छौँ ।” राष्ट्रिय आविष्कार केन्द्रले एउटा स्टाण्डर्ड ९गाइडलाइन० निकालेको छ । यो निकालेपछि यसैलाई फलो गरेर अन्य ठाउँबाट पनि उत्पादन शुरु गरिएको छ । यही हाम्रो गाइडलाइनबाट बनिरहेको छ । एम्बुलेन्स चालकका लागि पनि छुट्टै पीपीई बनाइएको छ । दुई सयभन्दा बढी चालकले लगिसकेका छन् ।

त्रिविवि शिक्षण अस्पताल, वीर अस्पताल टेकु, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल तथा निजी अस्पताल सबैलाई पीपीई दिइएको ढकालले बताउनुभयो । “अझै माग आइरहेको छ । हामी दैनिक १८ घण्टा बढी खटेर पीपीई बनाइरहेका छौँ”, ढकालले भन्नुभयो, “कुन अस्पतालाई चाहिन्छ, के कति मात्रामा माग छ भन्ने कुरा महावीर पुनले नै तथ्याङ्क लिनुहुन्छ, र यहाँ पठाउनुहुन्छ । हामी सोहीअनुसार दिएर पठाउछौँ ।” पीपीईमा जापानीज फेबरिक प्रयोग हुन्छ, त्यसमा पनि डबल लेयर्ड रबराइज हुनुपर्नेछ, काट्ने र सिलाउने ठाउँ कम गरिएको छ । काटेको ठाउँमा टेपिङ अनिवार्य गर्नुपर्ने, जिफर हावा र पानी नछिर्ने हुनुपर्ने मापदण्ड छ ।

काठमाडौँ मै बस्ने पर्वतका अमबहादुर रोक्का पनि पीपीई पट्याउँदै हुनुहुन्थ्यो । उहाँ ९ दिनदेखि स्वयंसेवकको रूपमा काम गरिरहनुभएको छ । अहिलेको अवस्थामा सहयोग गर्न यहाँ काम गर्न आएको । सेवा भनेको दुःख पर्दा हो सुख पर्दा जसले पनि गर्छ । त्यही भएर सेवा गर्न मन लागेको छ । यहाँ यसरी झण्डै २० जनाले काम गरिरहेका छन् । रात दिन नभनी काम भइरहेको केन्द्रलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराए कोरोना नियन्त्रणका लागि विदेशबाट सामान आयात गर्नै नपर्ने ढकालको दाबी छ । हालसम्म सबै सामग्री निःशुल्क दिइएको छ । अमेरिका नेपाल चिकित्सक सोसाइटीले केही सहयोग उपलब्ध गराएको छ । यस्तै नेपालभित्रका केही दाताले सक्दो सहयोग गरेका छन् । सोही सहयोगका आधारमा नै केन्द्रले कोरोना नियन्त्रणका लागि सक्दो सहयोग गरेको छ । सरकारले आफूहरूलाई साधन र स्रोत उपलब्ध गराए देशभित्रै स्वास्थ्य सामग्री बनाउन सकिने उल्लेख गर्दै ढकालले नेपाली युवा वैज्ञानिकको ज्ञान र सीपलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

(रमेश लम्साल र नारायण ढुङ्गाना, रासस)

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width