निगमलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाउनुको विकल्प छैनः अध्यक्ष घिमिरे

रासस
वैशाख ३, २०७७
RNAC-Office

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले करीब तीन महिनाको अन्योलतापछि एक कुशल एवम् क्षमतावान् नेतृत्व पाएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव सुशील घिमिरेलाई निगमका कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा राजीनामा दिएपछि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । घिमिरेलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको पर्यटन मन्त्रालयले पुष्टि गरेको छ । घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो । निजामती सेवामा रहँदा घिमिरेले एक कुशल राष्ट्रसेवकको छवि बनाएर तत्कालीन पर्यटन मन्त्रीहरुबाट प्रशंसा पाउनुभएको थियो । घिमिरेले जहाँ जुन मन्त्रालय तथा संस्थाको नेतृत्व लिनुभयो त्यहाँ आफूलाई अब्बल साबित तुल्याउनुभयो ।

घिमिरेको विगतको कर्मशील छविलाई नै लिएर अहिले सरोकारवालाले उहाँको निगम यात्राको पुनर्आगमनको सिलसिलामा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । घिमिरेको नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुक तथा सञ्चारमाध्यममा निगम सुधारको अपेक्षासहित शुभकामना दिएका छन् । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडे काजी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि निगम नेतृत्वप्रति आशातीत प्रतिक्रिया जनाएका छन् ।

निगमको पुनर्संरचना, व्यवस्थापकीय पुनर्संंरचना, संस्थागत पुनर्संरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव स्रोत व्यवस्थापन लगायतको विषयमा घिमिरेको कार्यदलले दिएको सुझावबाट पर्यटमन्त्री भट्टराई प्रभावित हुनुहुन्छ । निगमको सुधारका लागि निगमका बारेमा जानकारलाई नेतृत्व दिँदा सुधार ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

नवनियुक्त घिमिरेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सुधारका विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । गौरवमय इतिहास रहेको नेपाल वायु सेवा निगम अनेकौँ उतारचढावबीच अहिलेको अवस्थामा आइपुगेको बताउँदै घिमिरेले अब यसलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको नेपाल वायु सेवा निगमको वर्तमान चुनौतीपूर्ण अवस्थालाई सुधार गरी अब्बल बनाएर लैजानुको विकल्प छैन । कडा मेहनतका साथ यसको उज्यालो भविष्यका लागि लाग्नेछु ।”

सरकार तथा निजी क्षेत्रका सरोकारवाला निकायको सहकार्य र विश्वासलाई जितेर निगमको नेतृत्वलाई गन्तव्यमा पुर्याउन सके मात्रै घिमिरेको निगम यात्राले सार्थकता पाउनेछ । घिमिरेले कोभिड–१९ को सङ्क्रमणपछि निगमको अर्थोपार्जनमा झनै चुनौती थपिदिएको भन्दै यो अवस्थाबाट निगमलाई सुधार्ने आगामी रणनीतिका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । उहाँले निगम सुधार कार्यदलले दिएको सुझावअनुरुप पछिल्ला दिनमा निगमभित्र केही सुधारात्मक काम पनि भइरहेको बताउँदै त्यसलाई थप प्रभावकारी बनाएर लैजाने विश्वास दिलाउनुभयो ।

को हुन् घिमिरे ?

पूर्वसचिव घिमिरे नागरिक उड्डयन क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति मानिनुहुन्छ । उहाँले तत्कालीन उपसचिव रहँदा लामो समय पर्यटन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरीवेक्षणको जिम्मेवारी बहन गर्नुभएको थियो । यसपछि घिमिरले पर्यटन मन्त्रालयको सचिवका रुपमा २०६९ साल पुस २७ देखि २०७१ साउन ८ गतेसम्म जिम्मेवारी सम्हाल्नुभयो । सोही अवधिमा घिमिरे निगमको सञ्चालक समितिको अध्यक्ष हुनुभएको थियो । लामो समयदेखि थाती रहेको नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले घिमिरेले सम्पन्न गर्नुभएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया शुरु गर्नमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । विगत ४० वर्षअघिदेखि जग्गा अधिग्रहण गरी कार्यान्वयनमा नआएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको घिमिरे सचिव रहँदा कार्यान्वयन शुरु भएको थियो ।

यसैगरी १० वर्षअघिदेखि कार्यान्वयनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि उहाँकै कार्यकालमा शुरु भएको हो । पर्यटनबाहेक घिमिरले सचिवका रुपमा सञ्चार मन्त्रालय, भूमिसुधार, स्थानीय बिकास, युवा तथा खेलकूद र महालेखा नियन्त्रकको सफल जिम्मेवारी सम्हाल्नुभएको छ । आफ्नो ३० वर्षे निजामती सेवाका दौरानमा सचिवबाट अवकाश पाएपछि घिमिरेले खुल्ला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्र सङ्घको उच्च अधिकारीको भूमिकामा रहेर करीब २०÷२५ मुलुकका कर्मचारीहरुसँग समन्वय गरेर काम गर्नुभयो । अर्घाखाँचीको पाणिनी ९हालको पाणिनी गाउँपालिका० मा जन्मनुभएका घिमिरेले विज्ञान विषयमा स्नातकोत्तर तथा कानूनमा बिएल अध्ययन गर्नुभएको छ ।

सुधारक प्रशाशक

सुशील घिमिरे निजामती क्षेत्रका पनि सुधारका सूत्रधार मानिनुहुन्छ । दूरसञ्चार संस्थान, निजामती किताबखानामा महानिर्देशक रहँदा उहाँले ‘व्यक्तिगत सूचना प्रणाली’को विकास गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रजिअ रहँदा घिमिरेले एकद्वार प्रणालीमा नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्य शुरु गर्नुभएको थियो भने राहदानीको फारम बिहान ८ बजे देखि १०ः३० बजेसम्म सङ्कलन गरी सोही दिन नै राहदानी वितरण गर्ने प्रक्रिया शुरु गर्ने श्रेय पनि उहाँलाई नै जान्छ ।

दूरसञ्चार संस्थानलाई कम्पनीमा परिवर्तन गर्ने नेतृत्वदायी भूमिका रहनुभएको घिमिरेले २८ वर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले सम्पन्न गर्नुभएको थियो । उहाँले प्रशासनिक सुधार आयोगको सदस्यको जिम्मेवारीमा रहेर निजामती सेवा सुधारका लागि तालीम तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी साङ्गठनिक संरचनासमेतको प्रतिवेदनसमेत तयार पार्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width