‘हामी क्वारेन्टाइनमा ठीक छौँ, तपाईँहरु घरमै बस्नुहोला’   

रासस
वैशाख २, २०७७
pyuthan-3

स्वर्गद्वारी । प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीका देवबहादुर थापा भारतमा होटलमा काम गर्नुहुन्छ । रोजगारीका सिलसिलामा उहाँ एक वर्ष अगाडि भारत जानुभएको हो । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) कारण भारतमा लकडाउन भयो । आफूले काम गर्ने होटल बन्द भएपछि साथीहरुसँगै उहाँ जन्मथलो प्युठान फर्किनुभयो । उहाँसँगै १६ साथी कपिलवस्तुको कृष्णनगर नाका हुँदै गत चैत १२ गते नेपाल भित्रिएका थिए ।

उहाँहरुलाई तीन दिन कृष्णनगरस्थित क्वारेन्टाइनमा राखियो । प्युठानस्थित आफ्नै गाउँपालिकाले उनीहरुको उद्धार गरेर गाउँपालिकाले निर्माण गरेको ऐरावती २ बरौलास्थित मोती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राख्यो ।

क्वारेन्टाइनमा गाउँपालिकाले खानबस्न व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीको रेखदेख र सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा सबै व्यवस्थापन राम्रो रहेको थापाले बताउनुभयो । क्वारेन्टाइनको बसाइबाट उहाँले बाहिर सन्देश दिँदै भन्नुभयो, “सुखदुःख गरेर बसेका छाैँ, हामीलाई ठीकै छ, तपाईँहरु पनि घरमै सुरक्षित बस्नुहोला।”

परिवार र समाजका लागि क्वारेन्टाइनमा बस्दा आफूहरुलाई असहज महसुस नभएको थापासँगै क्वारेन्टाइनमा बस्नुभएका तेजबहादुर रानाले बताउनुभयो । गाउँपालिकाले इन्टरनेटको ब्यवस्था पनि गरेको छ । उहाँले भन्नुभयो, “समय बिताउन र बाहिरका समाचार थाहा पाउन दिउँसो इन्टरनेट चलाउँछौंँ । गाह्रो केही पनि छैन।”

क्वारेन्टाइनको समय १४ दिनबाट बढाएर २१ दिन राख्ने सरकारी निर्णयपछि सान्त्वना दिन र त्यहाँको अवस्थाबारे अवलोकन गर्न जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुखसहित स्वास्थ्य कार्यालयका प्रतिनिधि बरौला पुगेका थिए । क्वारेन्टाइनमा बसेकाहरुलाई तोकिएको दूरी कायम गरी टाढैबाट सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कार्कीले भन्नुभयो, “तपाईँहरु कुनै कैदी होइन, आफू र आफ्नो घरपरिवार अनि समाजका लागि केही दिन बसिदिनुस् ।”

जिल्ला स्वास्थ्य कार्यालयका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले केही देशमा १४ दिनपछि पनि भाइरस संक्रमण देखिएकाले २१ दिनसम्म राख्नुपर्ने निर्देशनानुसार समय थप गरिएको जानकारी दिनुभयो ।

ऐरावती १ दाङवाङ निवासी छमा गाहा मगरको परिवार नै क्वारेन्टाइनमा छ। उहाँसँगै पति मोहन र छोराछोरी गरी चार र अन्य ६ सहित १० जना दाङवाङ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्नुभएको छ । छमा सहित उहाँको परिवार १२ वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दैआएको थियो । उहाँको सिङ्गो परिवार नै चैत १७ गते जन्मथलो प्युठान आएको हो । क्वारेन्टाइन बसाइमा परिवारसँगै रहनुभएका छमाले भन्नुभयो, “कुनै समस्या छैन, हाम्रो हेरचाह गाउँपालिकाले राम्रोसँंग गरेको छ ।” बरु उहाँ क्वारेन्टाइनको २१ दिन बसाइ सकेर घरमा गएर कसरी समय बिताउने भन्ने चिन्ता लागेको बताउनुहुन्छ ।

मल्लरानी गाउँपालिका वडा नं ४ का जीवन नगरकोटी रोजगारीका सिलसिलामा दुई वर्षदेखि दुबइ रहनुभएको थियो । उहाँ चैत १० गते स्वदेश फर्कनुभएको हो । फर्केदेखि नै उहाँ होम क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यमा अहिलेसम्म कुनै समस्या देखिएको छैन । नगरकोटीले भन्नुभयो, “बाहिर स्थानीय तहले बनाएका क्वारेन्टाइनका सबै विधि मैले पनि अपनाएको छु ।”

जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकानुसार जिल्लामा तीन हजार ८३ जना भारतलगायत विभिन्न तेस्रो मुलुकबाट जिल्लामा भित्रिएका छन्। प्युठानका नौ स्थानीय तहमध्ये सबैले क्वारेन्टाइन निर्माण गरे तापनि ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाले मात्र ७५ जनालाई क्वारेन्टाइनमा राखेका छन् ।

जिल्लाका मल्लरानी,, नौबहिनी, सरुमारानी, गौमुखी र झिमरुक गाउँपालिकाले विदेशबाट फर्किएकाहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । जिल्लाका क्वारेन्टाइनमा बसेकाहरुमा अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसी बताउनुहुन्छ । उहाँले क्वारेन्टाइनमा बसेकाहरुलाई एकापसमा कोरोना संक्रमण नहुने गरी तोकिएकै मापदण्डका साथ व्यवस्थापन गरिएको बताउनुभयो ।

माण्डवी ४ उदयपुरकोट निवासी २९ वर्षीय उमेश राना भारतको केरलाबाट आउनुभएको हो । भारतमा लकडाउन भएपछि घर फर्कनुभएका राना १२ दिनदेखि भुवनेश्वरी प्राविको क्वारेन्टाइनमा हुनुहुन्छ । अहिलेसम्म उहाँलाई पनि कुनै समस्या छैन । दाङबाट बहिनीज्वाइँसँगै फर्कनुभएका रानासँगै अहिले क्वारेन्टाइनमा माण्डवी ३ चकचकेमा व्यवसाय गर्दै आउनुभएका रानाका ज्वाइँ उमेश महरा पनि बस्नुभएको छ । “भारतबाट आएका जेठानलाई लिन गएको थिएँ, उहाँसँंगै मलाई पनि क्वारेन्टाइनमा बस्नुपर्छ भनिएपछि बसेको हुँ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण घरपरिवार र समाजमा महामारी नफैलियोस् भनेर बसेको हुँ, अहिलेसम्म ठीकै छ हामी नेपाली कोही कोरोनाका कारण मर्न नपरोस् । ”

भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई अन्य ६ स्थानीय सरकारले होम क्वारेन्टाइनमा बस्न सुझाएका छन् । “हामीहरुले घरमै गएर बस्न सम्झाएका छौंँ”, प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width