‘चामल कहिले आउँछ बाबु ?’   

रासस
वैशाख २, २०७७
jajarkot

जाजरकाेट । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो हात फर्कुनुमा बित्छ । गाउँमा पुरानो अन्न सकिएको छ । नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ ।

खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताउनुभयो ।

जुनिचाँदे गाउँपालिका – १० का पदम खड्काले भन्नुभयो, “हाम्रो ठाउँमा सिंचाइ गर्नक पानी भएपनि खोलामै छमछम बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।”
अहिले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ । शनिबार झण्डै २ सय भन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रशितले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बारेकोट गाउँकमिटीले आग्रह गरेको छ । बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताउनुभयो ।

बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेपनि अहिले म्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिनुभयो । अहिले कार्यालय आफैले केही चामल खच्चडमा ल्याउने गरेको छ ।

आवागमन रोक्न पुलमा ताला
लकडाउन कार्यान्वयनका लागि डोल्पा सडक खण्डको विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा ताला लगाइ बिरामीबाहेक अन्यलाई आवतजावत ठप्प पारिएको छ ।
जिल्लाको नलगाड नगरपालिका –७ चामेखेत, वडा ८ को वगरा र वडा ११ को तल्लु लगायतका ठाउँमा रहेका झुलुङ्गे पुलमा ताला लगाएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकासँग जोडिएका यी ठाउँमा भेरी नदी पर्छ । त्यस्तै डोल्पा, जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीमा समेत पुलमा ताला र सडकमा बार लगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

सुरक्षा व्यवस्था कडा भएका कारण खाद्यान्नलगायत सामग्री लिन समेत निकै समस्या भएको नलगाड नगरपालिका –८ का नेत्र बिसीले बताउनुभयो । नगरपालिका –८ का शिक्षक बीरबहादुर खत्रीले गाउँबाट तरकारी, दूध र दहीसमेत बजार लान नसकिएको जनाउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width