भारतको देशव्यापी लकडाउन लम्बिन सक्छः मुख्यमन्त्री रावत

रासस
चैत्र २८, २०७६
Untitled

देहरादुन, २८ चैत । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताउनुभएको छ। उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताउनुभएको हो ।

“भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भन्नुभयो ।

उहाँले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिनुभयो। तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहेपनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उहाँको भनाई छ।

शुरुमा उनीहरुले अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताउनुभयो ।

“फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिवेला उनीहरुलाई यो कुनै तपाईहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ,” उहाँले भन्नुभयो ।

त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको मुख्यमन्त्री रावतले जानकारी दिनुभयो ।

आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उहाँले बताउनुभयो।

हामीसँग झण्डै दश हजार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई किट्स) ३० हजार मास्क र २५७ भेन्टीलेटरहरु छन्,” उहाँले भन्नुभयो । अहिले आफुहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

उहाँले अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफुहरु भाग्यमानी भएको पनि बताउनु भयो । मुख्यमन्त्री रावतले उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको र ती मध्ये निको भएर घर फर्किसकेको जानकारी दिनुभयो।

उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको पनि उहाँले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width