लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ

रासस
चैत्र २८, २०७६
Upper-Tamakoshi

काठमाडौँ, २८ चैत । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको छ ।

आयोजना स्थलमा एक एम्बुलेन्स अनिवार्य रुपमा राख्नैपर्ने, निर्माण स्थलमा खटिएका कामदारलाई आइसोलेशनमा बसे जस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजना स्थलमा एक मेडिकल टिम अनिवार्य रुपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको काम शुरु गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ ।

निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरुपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको उनको भनाइ छ । “ठूला आयोजनाहरुमा काम गर्ने भन्ने छ । विद्युत्का आयोजना मात्रै नभई, अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको हो”, मन्त्री पुनले भने ।

विशेष गरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल यूनिट रहनै पर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी लगायतका आयोजना सञ्चालन भइरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । हाल आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । आयोजनामा केही दिन पहिले मात्रै बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीको परिक्षण गरिएको थियो । सरकारको विशेष व्यवस्था पछि राष्ट्रिय गौरवकै आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको छ । निर्माण व्यवसायी सिनो हाइड्रोले लकडाउनको समयमा समेत काम गरिरहेको छ ।

निर्माणमा रहेका केही आयोजनाको निर्माण सामग्री पनि रहेको र मजदुर पनि रहेकाले समस्या परेको भने अवस्था छैन । निर्माण सामग्री आयातमा जाँदा सङ्क्रमण हुन सक्ने खतरा पनि रहेकाले त्यसलाई पनि विचार गरेर नै आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीको लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ । गृह मन्त्रालयले जलविद्युत् आयोजनाले पनि सरकारले तोकेको सुरक्षा मापदण्ड भित्र रहेर काम गर्नुपर्ने सर्त अगाडि सारेको छ । ढुवानीको पास लिन आयोजनाले सामान कहाँबाट ल्याउने र कहाँ लैजाने भन्ने मार्ग उल्लेख गरेर ऊर्जा मन्त्रालयमा निश्चित विवरणसहित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमा ढुवानी गर्ने साधनको प्रकार, सवारी साधनको नम्बर, सवार हुने व्यक्तिको नाम र अत्यावश्यक सामानको परिमाण उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै चालक तथा सहचालकले पञ्जा, मास्क र सेनिटाइजर लगायतका सुरक्षा सामग्री प्रयोग गर्नुपर्नेछ । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक पत्राचार गरिनेछ । मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्ग प्रशस्त गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width