कास्कीमा क्वारेन्टाइन बसेकाहरु सुरक्षित

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
aaaa

पोखरा, २७ चैत । कास्कीका विभिन्न ठाउँमा क्वारेन्वाइनमा बसेकामध्ये ३६ जना १४ दिनको बसाइँ टुंगाउँदै घर फर्किएका छन् । उनीहरुमा पटक पटकको परीक्षणमा कोरोना नभएको अर्थात् नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकरी दिए ।

भारत लगायत विभिन्न मुलुकबाट जिल्ला फर्किएकामध्ये  १६ जना पोखरा ५, मालेपाटनस्थित कृषि तालिम केन्द्र र २० जना रुपा गाउँपालिकामा निर्मित क्वारेन्टाइनमा बसेका थिए । विभिन्न चरणमा गरी हालसम्म ३६ जनालाई घर पठाइएको हो ।प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘उनीहरुको ल्याब टेष्टमा नेगेटिभ रिपोर्ट आएकोले कोरोनाको संक्रमण नदेखिएपछि सुरक्षित घर पठाइएको हो । क्वारेन्टाइनमा बसेका अन्यको पनि क्रमशः ल्याब टेष्ट हुनेछ ।’

क्वारेन्टाइनबाट घर फर्किएकाहरुलाई तैपनि एक साताका लागि होम क्वारेन्टाइन बस्न आग्रह गरिएको छ । यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल, बागलुङमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटालाई फोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।मुख्यमन्त्रीले कुराकानीमा भनेका छन्, ‘मन दह्रो पार्नु । केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला । म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु ।’सोक्रममा कोरोना संक्रमित अंशुले चिकित्सकले समेत आफूलाई फोनमार्फत संवाद गरिरहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी थिइन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट गृहजिल्ला बागलुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो। उनी राजधानी काठमाडौं बाहिर कोरोना संक्रमित देखा पर्ने पहिलो बिरामी हुन् । बागलुङमै अर्की एक वृद्धामा पनि कोरोना संक्रमण देखिएपछि उनको पनि अस्पतालमा उपचार भइरहेको छ ।स्वास्थ्य मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोलीले बिहीबारदेखि बागलुङमा ¥यापिड टेष्टको काम थालनी गरेको बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width