पूर्व मन्त्री हरिप्रसाद पाण्डेलाई पितृशोक

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
late pandey

पोखरा, २५ चैत । पूर्व मन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेलाई पितृशोक परेको छ । उनका पिता खिमानन्द पाण्डेको ९७ वर्षको उमेरमा सोमबार राति पोखरा–६, लेकसाइडस्थित आफ्नै निवासमा निधन भएको हो ।

पाल्पाको साविक अर्गली गाविस वडा ३ हाल तानसेन नगरपालिका वडा १४ रनुवामा उनको जन्म वि.सं. १९८० चैत १८ मा भएको हो । स्व. पाण्डेको मंगलबार पोखरा सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । शवमा जेठा छोरा हरिप्रसादले दागबत्ती दिए । स्व. पाण्डेका श्रीमती शिवकुमारी, ४ भाइ छोराहरुमा हरिप्रसादसहित विष्णु, कृष्ण र शंकर पाण्डे छन् । २ छोरीहरु राधिका बस्याल र लक्ष्मी पाठक हुन् ।

स्व. खिमानन्द पाण्डे सामाजिक व्यक्तित्व थिए । उनले पाल्पाको अर्गलीमा पौने २ करोड रुपैयाँमा नेपालकै एकमात्र बद्रीनारायणको मन्दिर तथा ताहुँमा ५० लाखमा रम्भादेवी मन्दिर निर्माण गरेका थिए । यस्तै, जिल्लामा विभिन्न विद्यालयमा आर्थिक तथा भौतिक सहयोग गरेका छन् । यसैबीच, पाल्पाली समाज पोखराले पाण्डे परिवारमा पर्न गएको शोकप्रति दुःख व्यक्त गरेको छ ।

समाजका तर्फबाट अध्यक्ष कुलप्रसाद घिमिरेले समाजका संरक्षक एवं मातृसेवा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री हरिप्रसाद पाण्डे तथा समाजका सल्लाहकार उद्योग व्यवसायी विष्णुप्रसाद पाण्डे, सदस्य कृष्ण पाण्डे र शंकर पाण्डेका बुबाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width