प्रदेश ५ को रुपन्देहीमा प्रयोगशाला संचालको तयारीमा , मुख्यमन्त्रीद्धारा अवलोकन

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७६
piclla

बुटवल २३ चैत्र । कोरोना भाईरसको परीक्षणको दायरा बढाउँदै रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुवालीकेन्द्र परिसरमा रहेको प्रयोगशालामा आजबाट परीक्षण हुने भएको छ । विज्ञ सहितको अन्य प्राविधिक टोलीले शनिवार र आइतबार प्रयोगशालाका उपकरण जडानगरि सकेको र आजै साँझवाट प्रयोगशाला सञ्चालनमा आउने छ । प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र कुमार गिरीले नमूना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए ।

आज प्रयोगशालामा प्रयोग हुने सामाग्रीको क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट हुन्छ त्यसपछि ल्याब परीक्षण कार्यसुरु हुने डा. गिरीले बताए । । क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले प्रदेश५को लागि विष्णु रायमाझीलाई तोकेकोको थियो ।प्रयोगशाला सञ्चालनको लुम्बिनी प्रादेशिक अस्पतालबाट सुमन सापकोटा र आशिष श्रेष्ठ सहितको टोलीले कार्य गरिरहेको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा गिरीले बताए । डा गिरीका अनुसार एक पटकमा १६ बटा सम्म नमुना परीक्षण गर्न सकिन्छ आवश्यक परेको खण्डमा यसको क्षमता बढाउदैं लैजाने छ । यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइदै आएको थियो।

जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो। भैरहवा पछि क्रमस दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापनागरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने डा गिरीले बताए ।

मुख्यमन्त्रीद्धारा अवलोकन

मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी लिए । सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले प्रयोगशालाको अवस्थाका बारेमा जानकारी गराए । मुख्यमन्त्रीले प्रयोगशालालाई छिटो सञ्चालन गरी कोरोना भाइरसको परीक्षण गर्न निर्देशन दिए । साथै उहाले सामाजिक विकास सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटी पीसीआर मेशिन तत्काल खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिए । आरटीपीसीआर मेशिनको परीक्षण गर्न सक्ने क्षमता बढी हुन्छ । अहिले प्रयोगशालामा पीसीआर मेशिन छ, यही मेशिनबाट कोरोना भाइरसको जाँच हुन्छ ।

भारतीय क्षेत्रमा संक्रमण फैलिएपछि सीमामा कडाई

बुटवल २३ चैत्र । रुपन्देही नवलपरासी र कपिलवस्तुको सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको छ । कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा उच्च सतर्कता अपनाइएको हो ।

भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउसोसम्म भारतमा ३ हजार ३ सय ७८ जना संक्रमित र ९९ जनाको मृत्यु भइसकेको छ ।शनिबार रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका थिए । मर्चवार क्षेत्रका सर्वसाधरणका लागि कोल्हुई मुख्य बजार हो ।

मर्चवार क्षेत्रबाट नेपाली र भारतीयको आवगमन हुने गर्दछ । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ । यस्तै भारतबाट नेपाल आएका सुदूरपश्चिमका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि सीमामा निगरानी बढाइएको छ ।सीमापारी भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताए । उनले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका सिल गरिएको र अब अवातजावत हुन सक्ने सा(साना नाका–बाटोहरु पनि सिल गरिएको बताए ।

रुपन्देहीको भारतसगँ ५९ दशमलव ७ किमीको सीमा जोडिएको छ । सीमाम ५२ वटा प्वाइन्टमा चौबिसै घण्टा स्थायी रुपमा सशस्त्र प्रहरी खटिएका छन् । यसको अलावा जनपद प्रहरीले पनि जिल्लाको अन्य भेगसँगै सीमावर्ती क्षेत्रमा निगरानी गरिरहेको छ । सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीहरुले पनि निगरानी बढाएका छन् ।
भारतसगँ जोडिएको साना गोरेटो बाटो देखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले बताए ।

मुख्यमन्त्रीको नेतृत्वमा संकट व्यवस्थापन केन्द्र निमार्ण

प्रदेश ५ मा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसी स्थापना सँगै ११ निर्णय गरिएको छ । प्रदेशमा कोभिड १९ संक्रमण सम्बन्धी कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका सेन्टरको स्थापनागरी निर्णयहरु गरिएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसी स्थापना भएको हो । क्राइसिस मेनेजमेण्ट सेन्टरको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सीताराम खडका,रहेका छन ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुवेदी, आर्थिक मामिला योजना मन्त्रालयका सचिव मधु मरासिनी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर खरेल, सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनाल, नेपाली प्रहरी प्रदेश ५ का प्रमुख, सशस्त्र प्रहरी बल प्रदेश ५ का प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख रहेका छन् ।सदस्य सचिवमा मुख्यमन्त्री तथा मत्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीलाई तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width