कोरोना विरुद्धको अभियानमा आदर्श सञ्चारको १ लाख सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
rahat

बागलुङ, २१ चैत । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राष्ट्रिय सहकारी दिवसका लागि छुट्टयाएको १ लाख रुपैयाँ कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गरेको छ ।

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको १ लाख रुपैयाँ मध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा ५०÷५० हजार सहयोग गरेको हो । हरेक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवसका अवसरमा आदर्श सञ्चार सहकारीले सहकारी सचेतना लगायत रचनात्मक, सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

कोरोना भाइरस संक्रमणका कारण मुलुक नै लकडाउनमा रहेकाले यस वर्ष सहकारी दिवस औपचारिक रुपमा मनाउन नपाएपछि संस्थाले दिवसका लागि छुट्टयाएको रकम कोरोना विरुद्धको अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको बुधवार बसेको अनलाइन वैठकले बागलुङ नगरपालिकालाई ५० हजार र काठेखोला गाउँपालिकालाई ५० हजार सहयोग गर्ने निर्णय गरेको थियो ।

संस्थाले सहकारी दिवसका अवसरमा बागलुङ नगरपालिकाका विभिन्न वडामा ८ वटा र काठेखोला गाउँपालिकाका विभिन्न वडामा ७ वटा कार्यक्रम गर्ने योजना बनाएको थियो । कोरोना संक्रमणका कारण सबै कार्यक्रम स्थगित भएको संस्थाले जनाएको छ । राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्मालाई संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले चेक हस्तान्तरण गरेकी थिइन् ।

सहकारी दिवसका लागि छुट्टयाएको रकम सहकारीको सातौ सिद्धान्त अन्तर्गत समुदायको हितमा प्रयोग गर्नका लागि सहयोग गरिएको अध्यक्ष जिसीले बताइन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आदर्श सञ्चार सहकारी संस्थाले सूचना तथा सञ्चारसंगै आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र मुलुकमा देखिएको विषय परिस्थितिमा स्थानीय सरकारलाई सहयोग गरेर थप उत्साहित बनाएको बताए ।

काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीम बहादुर विश्वकर्माले काठेखोला गाउँपालिकाले कोरोना नियन्त्रण तथा उपचारका लागि स्थानीय संघ संस्था, कार्यालय तथा व्यक्तिहरुसंग सहकार्य गरेर अगाडि बढेको बताए । साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशनका साथ आदर्शसञ्चार अनलाईन सञ्चालन गर्दै आएको छ । संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २२ करोड वचत, २४ करोड ऋण लगानी रहेको संंस्थाका प्रवन्धक दीपकराज सापकोटाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width