फेदीखोलाको क्वारेन्टाइनमा रहेका ९ जना घर फिर्ता

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६

पोखरा, २१, चैत । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बिहीबार ९ जना गाउँवासीलाई क्वारेन्टाइन स्थलबाट घर पठाएको छ । विदेशबाट आएका विजय रानाभाट र जीवन भुजेल, कुमार रानाभाट, सुन्दर गुरुङ र चन्द्रबहादुर क्षत्री, राजेश गुरुङ,भगवती गुरुङ, प्रिना गुरुङ र सुन्दर सीता गुरुङलाई घर पठाइएको हो । नेपाल प्रवेश गरेको मितिले १४ दिन नाघेपछि उनीहरुलाई घर पठाइएको हो ।

क्वारेन्टाइनमा बसेर विषम परिस्थतिमा सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै उनीहरुलाई रु १ हजारको दरले प्रोत्साहन रकम पनि व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेलले जानकारी दिए । क्वारेन्टाइन अवधिभर दैनिक १ पटक स्वास्थ्य परिक्षण गरिदै आइएको पौडेलले बताए । जटिल किसिमका समस्या देखिएमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गर्न २ वटा एम्बुलेन्स अर्लटमा राखिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

हालसम्म देशैभर ६ जना व्यक्तिलाई कोभिड १९ को संक्रमण देखिएको छ, संक्रमित व्यक्ति सबै विदेशबाट फर्किएका हुन । विदेशबाट फर्किनेमा संक्रमणको उच्च संभावना हुन सक्ने भन्दै पालिकाले विदेशबाट भित्रिने व्यक्तिको लगत संकलन गर्दै आएको छ । देशभर लकडाउन हुनु अगावै स्याङ्जा तथा अन्य जिल्ला छिर्ने कुभिण्डे नाकामा हेल्थ डेक्स संचालन ल्याएको गाउँपालिकाले डेक्सलाई थप प्रभावकारी बनाएको छ । ११ दिनदेखि सञ्चालित डेक्समा हालसम्म ३६ हजार बढि यात्रु तथा भित्रिने व्यक्तिको ज्वरो परीक्षण गरिसकिएको छ ।

लकडाउनका कारण अवरुद्ध यातायात तथा आवतजावतका कारण नियमित सेवन गर्ने औषधिको अभाव हुन नदिन गाउँपालिकाले घरघरमा औषधि पुर्याउने व्यवस्था पनि गरेको छ । त्यसैगरी मुटुरोगी र मृगौला डाइलोसिस गर्ने बिरामीको लागि निशुल्क यातायात सेवा सुरुवात गरिएको अध्यक्ष घनश्याम सुवेदीले बताए । अध्यक्ष सुवेदीका अनुसार पालिकाले खाद्यान्न व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ भने विपन्न तथा दैनिक रोजीरोटी चलाउन कठिन हुने नागरिकको तथ्यांक संकलन गरी राहत वितरणको तयारी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width