वालिङका चार जनाको स्वाब परीक्षण पाेखरामा

तोलाकान्त बगाले
चैत्र २०, २०७६
medical-342446_960_720

वालिङ, २० चैत । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा आज चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

२६ दिन अघि कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एकहप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

वालिङका पुरुष विदेशबाट संक्रमित ब्यक्ति सवार जहाजमा आएका बताईएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उहाँ होम क्वारेन्टाईनमा रहनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“कोभिड १९ को आशंकामा उहाँहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पोखरा पठाएका हौं” नगर प्रमुख खाँणले भन्नुभयो, “उहाँहरुको रिपोर्ट के आउँछ त्यसको प्रतिक्षामा छौं, तीन जना आईसोलेशनमा हुनुहुन्छ भने एक जना होम क्वारेन्टाईनमा हुनुहुन्छ, रिपोर्ट हेरेर मात्रै हामी अगाडि बढ्छौं ।”

कोभिड १९ को संक्रमणबाट आँफू पनि बच्न र अरुलाई पनि बचाउन लकडाउनको पूर्ण पालना गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो । “अहिलेको विषम परिस्थितिमा नगरबासीहरुमा नआत्तिन तर पूर्णरुपमा सचेत हुन पनि आग्रह गर्दछु ।” नगर प्रमुख खाँणको भनाई थियो ।

अहिले महिलाको श्रीमान र बुवा दुबैमा ज्वरो आउने तथा अन्य लक्षणहरु नदेखिएकोले अवस्था सामान्य रहेको छ । चापाकोटका तीनै जनालाई वालिङ नगरपालिकाले स्थापना गरेको आईसोलेशन सेन्टरमा राखी उपचार भईरहेको वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

महिलालाई झण्डै एक हप्तादेखि ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखिएपछि उपचारका लागि आजै वालिङ प्राथमिक अस्पतालमा आएका ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डा. पवन अर्यालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width