सवारी दुर्घटनामा दुईको मृत्यु

रासस
चैत्र १८, २०७६
Accident

बनेपा, १८ चैत । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपीलाल पहरी र वडा नं. २ का २५ वर्षीया सङ्गीता पहरीको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र सङ्गीताको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । उनका अनुसार २७ जना घाइतेमध्ये बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँचजना र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान भक्तपुरबाट रामेछापको दोरम्बातर्फ आउँदै गरेको बा१४च ९४९८ नम्बरको बोलेरो पिकअप राकाथुममा पुग्दा सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा बालबालिकासहित गरेर ३० जना घाइते भएको र उपचारका लागि पठाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width