भीरकोटमा विशेष सतर्कता, विपन्नहरुका लागि खाद्यान्न वितरण गरिँदै

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६
1

स्याङ्जाको भीरकोट नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नं. १ मा रहेको कालिका सामुदायिक अस्पताल र कन्साइन्स बोर्डिङ स्कुल साथै वडा नं. २ मा रहेको भुपु सैनिक स्कुलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । दैनिक उपभोग्य सामाग्रीको कमी हुन नदिनका लागि निश्चित समय तोकेर सुरक्षा सतर्कता अपनाई किनमेलको व्यवस्था मिलाएको छ ।

अति विपन्न, असहाय तथा वृद्ध र दैनिक मजदुरी गर्नेहरुलाई ध्यानमा राखी दैनिक खाद्यान्नका सामाग्रीहरु वितरण गर्ने समेत निर्णय गरेको छ । सुचना सम्प्रेषणका लागि टोल विकास संस्थाका अध्यक्षहरुलाई सञ्चार शुल्क समेत प्रदान गर्ने निर्णय गरिएको छ । भाइरस संक्रमण फैलिन नदिनका लागि औषधि छर्ने र जनचेतनाका लागि माइकिङ गर्ने कामलाई तिब्रता दिइएको छ ।

नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी भन्नुहुन्छ – ‘अहिले सम्म कुल ४७ जना क्वारेन्टाइनमा रहेका छन् । विभिन्न वडाहरुका ४६ जना होम क्वारेन्टाइनमा रहेको र उहाँहरुको नियमित स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस संक्रमणसँग मिल्दो जुल्दो कुनै पनि लक्षण देखिएको छैन । एक जना पोखरामा क्वारेन्टाइनमा नै हुनुहुन्छ, उहाँको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ भाइरस संक्रमण तथा रोकथामका लागि भारत लगायत विभिन्न मुलुकहरुबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने, सोसल डिस्ट्यान्सिङ कायम राख्नुपर्ने, खानपान तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्ने, सकारात्मक सोँच राख्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width