कोभिड १९ को जोखिम न्यूनिकरणका लागि वालिङमा सर्वदलीय, सर्वपक्षीय बैठक

तोलाकान्त बगाले
चैत्र १५, २०७६
88357303_2245321222237545_6105079901394567168_o

वालिङ, १५ चैत । विश्वभर महामारीको रुप लिएको कोभिड १९ को जोखिम न्यूनिकरणका लागि वालिङ नगरपालिकामा शनिबार सर्वपक्षीय, सर्वदलीय बैठक बसेको छ ।

वालिङ नगर प्रमुख तथा विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा बसेको बैठकले विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को संक्रमण न्यूनिकरण गर्नका लागि अपनाउन सकिने रणनीतिका विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ।

नगरपालिकाले कोभिड १९ का शंकास्पद बिरामीहरुको स्वाब परीक्षणका लागि तीनसय थान किट खरिद गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । किट खरिद तथा अन्य आपतकालीन कोषका लागि संघ संस्था वा ब्यक्तिहरुले स्वेच्छिकरुपमा उपलब्ध गराउनुभएको सहयोग लिने बताईएको छ ।

ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को अभावमा शंकास्पद बिरामीहरुको परीक्षण गर्नका लागि जोखिम हुनसक्ने भएकाले वालिङ नगरपालिकाले आफ्नै लगानीमा स्थानीय वालिङ बजारमै उत्पादन भएको पिपिई स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई वितरण गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै लकडाउनलाई अझै प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बसे नबसेको अनुगमन गर्ने र होम क्वारेन्टाईनको पालना नगरेको भए नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा ल्याएर राख्ने निर्णय भएको छ।

त्यस्तैगरी “नगरस्थित सबै राजनीतिक दलहरु, विभिन्न संघ संस्था तथा ब्यक्तिहरुसँग सहकार्य गर्दै वालिङ नगरपालिका अगाडि बढ्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “कोभिड १९ को जोखिम न्यूनिकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि अनुरोध गर्दछु ।”

वालिङ नगरपालिकाभित्र खाद्यान्नको अभाव हुन नदिने बताउनुहुँदै नगर प्रमुख खाँणले नगरपालिकाले खाद्यान्न तथा आवश्यक औषधीहरुको आपूर्ति नियमित हुने उल्लेख गर्नुभयो ।

गरीब तथा विपन्न परिवारका लागि खानाको अभाव भएकै कारण कोही चिन्तित नहुन पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो ।

गाउँ गाउँमा उत्पादन भएको कृषिजन्य बस्तुहरु बजारमा ल्याएर बिक्री वितरण गर्ने तथा पशुपंक्षीका लागि आवश्यक पर्ने दाना लैजाने ल्याउने ब्यवस्था मिलाउने पनि सर्वपक्षीय, सर्वदलीय बैठकले निर्णय गरेको छ ।

वालिङ नगरभित्र ५ वटा एम्बुलेन्स रहेका र तिनीहरुलाई पूर्ण तयारीका साथ राखिएको पनि सो अवसरमा जानकारी दिईएको थियो ।

भारत लगायत अन्य राष्ट्रबाट जिल्लामा आएका नागरिकको अभिलेख÷स्वास्थ्यसँग सम्बन्धित अभिलेख स्थानीय तहबाट अद्यावधिक गरी जिल्ला स्वास्थ्य कार्यालयमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको उपप्रमुख तिवारीले बताउनुभयो ।

कोभिड १९ को जोखिम न्यूनिकरणका लागि सर्वपक्षीय, सर्वदलीय बैठकबाट प्राप्त भएका सुझावहरुलाई सबैसँग सहकार्य गर्दै कार्यान्वयन गर्ने नगर उपप्रमुख कल्पना तिवारीले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नगरस्थित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक ब्यक्तित्वहरु, कर्मचारी, पत्रकारहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width