एक महायोगीको महापरायण

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
DJ-12

संसारमा सर्वाधिक स्थिर मन भएकी महिलाको उपाधि प्राप्त तथा १४० देशमा फैलिएको अन्तराष्ट्र्रिय आध्यात्मिक संस्थानको कुशलतापूर्वक संचालन गरिरहनुभएकी ब्रह्माकुमारी संस्थानकी अन्तराष्ट्रिय मुख्य प्रशासिका एवं स्वच्छ भारत मिशनकी ब्रान्ड एम्बास्डर राजयोगिनी डा.दादी जानकीको १०४ वर्षको उमेरमा बिहिबार निधन भएको छ ।

उहाँको देहान्तको खबरपछि देश बिदेशमा शोक छाएको छ । उहाँको अन्तिम संस्कार ब्रह्माकुमारीजको अन्तराष्ट्र्रिय मुख्यालयको शान्तिवन परिसरमा सोसल डिस्टेसिङ कायम राख्दै शुक्रबार दिउँसो १२ः३० बजे गरियो । दादी जानकीको जन्म एक जनवरी १९१६मा हैदरावाद सिंधमा भएको थियो । उहाँले २१ वर्षको उमेरमा नै आध्यात्मिक मार्गलाई अपनाउनुभएको थियो । १९७० मा सनातन संस्कृति, मानवीय मूल्य र राजयोगको सन्देश दिनको लागि पश्चिमी मुलुकहरुमा यात्रा शुरु गर्नुभएको थियो । आफ्नो सेवाकालमा १४० देशहरुमा उहाँले ब्रह्माकुमारीज सेवाकेन्द्रको स्थापना गर्नुभयो ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव ब्रह्माकुमार शैलेषराज बरालका अनुसार उहाँ ९१ वर्षको उमेरमा २७ अगस्ट २००७मा संस्थानको मुख्य प्रशासिका बन्नुभएको थियो । दादीको कुशल मार्गदर्शनमा दुनियाभरका देश बिदेशमा विश्व विद्यालयका सेवाकेन्द्रहरुको सन्चालन भइरहेको थियो ।

दादी जानकीको निधनमा भारतका राष्ट्रपति रामनाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेपाल र विश्वभरका वरिष्ठ राजनेताहरु, विभिन्न धर्मका धर्मगुरुहरु र कैयौं संघसंस्थाका पदाधिकारीहरुले गहिरो दुख प्रकट गर्दै शोक सन्देश पठाउनुभयो ।

दादी जानकीको कर्मयोगको बारेमा बताउँदै अवेकनिगं कार्यक्रमकी उत्प्रेरक वक्ता ब्रह्माकुमारी शिवानी भन्नुहुन्छ “सधै विनम्र र सरल दादी जानकी एक देवदुत हुनुहुन्थ्यो, जो हामी सबैकी एक दादी, आमा, साथी र मार्गदर्शक रहनुभयो । उहाँ ज्ञानकी अवतार हुनुहुन्थ्यो, जसले विश्व समाजमा आध्यात्मिक सेवालाई उचाई दिन अन्तिम श्वाससम्म निरन्तर, अथक सेवा गर्नुभयो । एक सच्चा आध्यात्मिक प्रणेता दादी ज्यूले युवा पीढिलाई सेवा कार्यमा सदैव अगाडि रहने प्रोत्साहन दिनुभयो उमेर, पद, ज्ञान र अनुभवमा वरिष्ठ हुनाका बावजुद पनी दादीजीले सबैलाई सधै बराबर राखेर भेट्नुहुन्थ्यो । दुनीयाभरीका मानीसहरुको मनमा उहाँले आफ्नो अमिट छाप छोड्नुभयो । उहाँसँग सधै देह बिदेशका मानिसहरु भेट्न आउँथे र उहाँ सधै व्यस्त रहनुहुन्थ्यो । ”

उहाँले सधै भन्नुहुन्थ्यो –बदलिदो जीवन शैलीमा ध्यान जरुरी छ । सानो सानो कुराले मनलाई विचलित हुन नदिनु । उहाँ एकदमै कम बोल्नुहुन्थ्यो र उहाँका हरेक शब्द आशीर्वाद हुन्थे । उहाँका एक एक शब्द यथार्थ बताउनका लागि काफी हुन्थे । उहाँको बुद्धि सधै विनम्रता र सादगीमा परिलक्षित हुन्थ्यो । उहाँ शरीरबाट भावनात्मक रुपमा अलग रहन सक्ने एक आदर्श उदाहरण हुनुहुन्थ्यो । अर्थात् शरीर जतिसुकै नाजुक भए पनि उहाँले आफ्नो दिमागमाथि यो कमजोरीले हावी हुन दिनुभएन । उहाँ फेरि नयाँ उर्जा सहित अर्को दिन सेवामा लाग्नुहुन्थ्यो ।”

Related News

सम्बन्धित समाचार

hero news full width