लकडाउन पालना गर्न पोखरा २८ को आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६

पोखरा महानगरपालिका वडा नं. २८ ले लकडाउन पालना गर्न वडाबासीलाई आग्रह गरेको छ । महानगरको शुक्रबार बसेको बैठकको निर्णय बमोजिम शुक्रबार वडामा भएको सरोकारवालाको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

साबिक माझठाना र कालिका दुवैलाई पायक गर्ने गरी क्वारेन्टाइन स्थल पहिचान र निर्माण गर्ने निर्णय भएको वडाध्यक्ष निर्मल दियालीले जानकारी दिए । अहिले पनि वडामा विदेशबाट आएका १६ जनालाई होम क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । कोरोना संक्रमणसँग मुकाबिला गर्न क्वारेन्टाइन व्यवस्थापनसहित सुरक्षा सामग्रीका लागि वडाको सामाजिक विकासको स्वास्थ्य शीर्षकमा रहेको १ लाख र महानगरले पठाएको ५० हजार उपयोग गरिने भएको छ ।

बैठकले क्वारेन्टाइन व्यवस्थापन र संकटमा वडावासीलाई सघाउन वडाध्यक्ष दियालीको संयोजकत्वमा १३ सदस्यीय समितिसमेत गठन गरेको छ । कोरोना संक्रमित देशबाट कोही आएमा घरमै क्वारेन्टाइनमा बस्न र संक्रमणका लक्षण देखिए वा कुनै सहयोग आवश्यक परेमा वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका पदाधिकारीलाई खबर गर्न अध्यक्ष दियालीले आग्रह गरे ।

उनले अत्यावश्यक खाद्यान्न, खाना पकाउने ग्यास आदिको कालोबजारी नगर्न पनि आग्रह गरेका छन् । वडाका सबै टोल, बस्तीमा सूचना सम्प्रेषणका लागि वडा सदस्य विष्णुप्रसाद तिवारीको संयोजकत्वमा माइकिङ र सूचना प्रवाह गर्ने निर्णयसमेत भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width