वालिङमा विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाईनमा बस्दै

तोलाकान्त बगाले
चैत्र १३, २०७६
88357303_2245321222237545_6105079901394567168_o

वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाईनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर ६० जनालाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका ब्यक्तिहरुको तथ्यांक संकलन गरिरहेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विदेशबाट फर्किएका ब्यक्तिहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव सहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं ।”

विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलबासीहरुलाई आग्रह गर्नुभएको छ ।

वालिङ नगरपालिकाकाको १ नं. वडामा ३, २ मा ७, ३ मा २, ४ मा १, ५ मा ६, ६ मा ५, ७ मा १, ८ मा १, ९ मा २, १० मा १, ११ मा ३, १२ मा ५ र १४ मा १ जना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बसेका नगर प्रमुख खाँणले बताउनुभयो ।

नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाहरुको तथ्यांक संकलन गर्ने कार्यलाई तिब्रता दिएको छ ।

स्थानीय टोलबासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

“विदेशबाट फर्किनुभएकाहरुलाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं” उपप्रमुख तिवारीले भन्नुभयो, “उहाँहरुको इच्छा अनुसार होम क्वारेन्टाईनमा बस्न छाडेका छौं बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं ।”

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

बुधबार साँझसम्ममा नगरभित्रका सबै वडाका टोलका घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकहरुलाई आँफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

होम क्वारेन्टाईनमा बसेकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिईएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिईने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width