फ्रान्सबाट सँगै आएका एकजनामा कोरोनाको आशङ्का, आन्तरिक उडान बन्द हुँदा नमूना परीक्षणमा समस्या

रासस
चैत्र ११, २०७६
1599px-Qatar_Airways,_Airbus_A380-861,_A7-APF_-_CDG_(24593761943)

झापाको गौरादह नगरपालिकाका एक व्यक्तिलाई कोरोनाको आशङ्कामा आइसोलेशनमा राखिएको छ । फ्रान्सबाट कतार हुँदै यही चैत ४ गते नेपाल आएकी कोभिड–१९ द्वारा सङ्क्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएका उनलाई भद्रपुरस्थित मेची अस्पालतको आइसोलेशनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सचिव जीवन चौँलागाईंले जानकारी दिनुभयो ।

चिकित्सकको निगरानीमा राखिएका उनलाई कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि समस्या भएको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले बताउनुभयो । “लकडाउनका कारण सबै आन्तरिक उडान बन्द छन्, नमूना परीक्षणका लागि सेम्पल कसरी पठाउने ”, प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, “दुई जना मात्रै कोराना सङ्क्रमणका बिरामी आए भने उपचार गर्न मुस्किल छ ।”

उहाँका अनुसार कोरोनाको सङ्क्रमण भए नभएको थाहा पाउन काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नमूना पठाउनुपर्ने हुन्छ । “सबै आन्तरिक उडान बन्द भएका कारण हामीलाई समस्या भएको हो”, उहाँले भन्नुभयो ।

यता भारतलगायत विभिन्न देशबाट आएका १६ नेपालीलाई मेची नगरपालिकाले धाइजनमा रहेको क्वारेन्टाइनमा राखेको छ । त्यस्तै विभिन्न देशबाट आएका ४० नेपालीलाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सचिव चौलागार्ईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुद्धशान्ति गाउँपालिकामा १३, भद्रपुरमा ७, विर्तामोडमा १, झापामा १४, हल्दिबारीमा २, अर्जुनधारामा २ र दमकमा एक जना होम क्वारेन्टाइनमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width