नेपाली अर्थतन्त्रमा कोरोनाको घाटा अर्बौं हुन सक्छ

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
New Road bandha

सरकारले नेपाल लक डाउन गरेपछि मंगलबार सुनसान पोखराको न्यूरोड । तस्वीर : रुपनारायण ढकाल/आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, ११ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना त्राससँगै उत्पन्न परिस्थितिबाट नेपाली अर्थतन्त्र समेत नराम्रो गरी प्रभावित हुने आँकलन गर्न थालिएको छ । गएको डिसेम्बर अन्त्यदेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभीड– १९ भनिने कोरोनाका कारण नेपालको आयात दर घट्दा राजश्वमा असर पर्ने मात्र नभई उपभोगमा समेत कमि आउँदा आर्थिक वृद्धिदरमा समेत लक्ष्य हासिल नहुने प्रष्ट जस्तै भएको छ ।

यसैविच सरकारले कोरोना भाइरस (कोभिड–१९) ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको अध्ययन समेत सुरु गरिसकेको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै रूपमा अर्थतन्त्रमा कोरोना भाइरसले पारेको प्रभावको अध्ययन तथा मूल्यांकन थालेको जनाइएको छ । सरकारी निकायबाट उत्पादन, आयात–निर्यात, भन्सार राजस्व संकलन, पर्यटन आगमन, पूर्वाधार निर्माणलगायतको तथ्यांक संकलन गरेर प्रतिवेदन तयार गर्ने कार्यमा अर्थमन्त्रालय लागेको छ । यसैगरी राष्ट्र बैंकले पनि अर्थतन्त्रका कुन–कुन क्षेत्रमा के–कति असर परेको छ, थप प्रभाव के–कति पर्न सक्छ भन्नेबारे अध्ययन गरिरहेको छ ।

कोरोनाको उच्च जोखिम क्षेत्रमा नेपाल समेत भएको विश्व स्वास्थ्य संगठनले भनेपछि नेपालमा समेत आर्थिक गतिविधि खुम्चिएर गएका छन् । अझ नेपाल नै लक डाउनको अवस्थाबाट गुज्रनुपर्ने पछिल्लो परिस्थितिले अर्थतन्त्रमा थप असर पर्ने निश्चित जस्तै छ । उत्तर, दक्षिण र पूर्व पश्चिमका सबै नाकाहरु बन्द गरेर आवात जावत बन्द मात्र गरिएको छैन, आयात निर्यात समेत प्रभावित भएको छ । अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम भन्ने गरिए पनि यसले पार्ने चेन इफेक्ट सम्पूर्ण रुपमा बन्द जस्तै हुन पुगेको छ अहिले । नेपालमा पर्यटन आगमन समेत ठप्प भएको अवस्था छ । हवाई सेवा समेत आन्तरिक र बाह्य दुबै क्षेत्रमा प्रभावित हुन पुगेको छ । उत्पादन, व्यापार र रोजगारीमा व्यापक रूपमा न्युनता देखिएको छ ।

एशियाली विकास बैंक (एडिबी)ले गरेको एक अध्ययनले कोरोना भाइरसका कारण नेपालको कुल ग्राहस्थ उत्पादनको १.११ प्रतिशत अर्थात् करिब ३२ अर्ब रुपैयाँ क्षति हुने अनुमान गरेको छ । पूर्ण ठप्पकै स्थितिमा गयो भने मुलुकले कम्तिमा पनि दैनिक दुई अर्ब रुपैयाँ बराबरको नोक्सान व्यहोर्नेछ । हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३४ खर्बको छ। जीडीपीमा कृषि क्षेत्रको ३० प्रतिशत सेवा क्षेत्रको ५१.३९ र उद्योगहरुको १३.४५ प्रतिशतको योगदान छ ।

कोरोना प्रभावका कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चने आँकलन अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नै सार्वजनिक गरिसकेको छ । यसैबीच विश्व बैंकले कोरोना भाइरससँग जुधिरहेका सदस्य मुलुकको सहायताका लागि प्रारम्भिक सहयोगस्वरूप १२ अर्ब अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) प्रारम्भिक सहायता घोषणा गरेको हो ।

चालू बजेटमा सरकारले साढे आठ प्रतिशत आर्थिक वृद्धिको आँकलन गरेको छ । त्यस्तो लक्ष्य प्राप्तीमा कोरोनाको नराम्रो प्रभाव पर्ने प्रष्ट जस्तै छ भने २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित घोषित नेपाल भ्रमण बर्ष समेत अन्योलमा पर्दा चौतर्फी असर देखिन पुगेको छ । यसैका कारण व्यवसायीहरु सरकारलाई राहत प्याकेज घोषणा गर्न दवाव दिइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width