कोरोना लागे लेखनाथ सामुदायिक अस्पतालमा राखिने

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
lclhpics (25)

प्रकाश ढकाल-पोखरा । गण्डकी प्रदेशमा कसैलाई कोरोना भाइरस संक्रमण देखिए लेखनाथस्थित लायन्स सामुदायिक अस्पतालमा   राखिने  भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न गठित उच्चस्तरीय निर्देशक समितिको बैठकले लायन्स सामुदायिक अस्पताललाई कोरोना रोग उपचार गर्ने डेडिकेटेड अस्पतालको रुपमा प्रस्ताव गरेको हो । प्रदेशभित्रै रहेका अन्य अस्पतालबाट उपकरण मागेर डेडिकेटेड अस्पताल चलाउन लागिएको हो ।

अस्पतालमा रहेका ६० बेडलाई कोरोनाको उपचारका लागि प्रयोग गरिने र त्यहाँ आवश्यक उपकरण तत्कालै जोड्ने निर्णय समितिले गरेको हो । यसमा लाग्ने खर्च प्रदेश सरकारले उपलब्ध गराउने छ । सोही अस्पतालबाट उपचार गराएका सबै बिरामीको खर्च पनि प्रदेश सरकारले ब्यहोर्ने छ । यस्तै, बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताललाई वैकल्पिक डेडिकेटेड अस्पताल बनाउने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पनि डेडिकेटेड अस्पतालको रुपमा तयार राख्ने गरी संघ सरकारसँग आग्रह गरिएको छ ।

प्रदेशमा ५० बेडभन्दा माथिका सबै अस्पतालले कम्तीमा १० जना चिकित्सक सहितको टोली तयार गर्ने र त्यसको विवरण कर्मचारी व्यवस्थापन समितिलाई बुझाउन निर्देशन दिइएको छ । मालेपाटनमा रहेको कृषि तालिम केन्द्रलाई २४ घण्टाभित्र आवश्यक उपकरण सहितको क्वारेन्टाइन होम बनाउन लागिएको छ । त्यसको बजेट सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने छ । प्रदेशमा रहेका ५० शैयाभन्दा ठूला अस्पतालले क्षमता अनुसार भेन्टिलेटर र अन्य उपकरण प्रदेशको आपूर्ति व्यवस्थापन समितिलाई बुझाउन आग्रह गरिएको छ भने ती अस्पतालहरुले अनिवार्य रुपमा फिवर क्लीनिक सञ्चालन गर्ने र कम्तीमा ५० थान पीपीई तयारी अवस्थामा राख्न निर्देशन गरिएको छ । मंगलबारदेखि नै सबै अस्पतालको ओपीडी सेवा पनि बन्द गर्ने निर्णय छ ।

आँबुखैरेनी, त्रिवेणीधाम, दाउन्ने, रामदी, बुर्तिबाङ, गैंडाकोट, आरुघाट, कोरला र रुइला लगायत सबै नाकाहरु एक साताका लागि पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ । नाकामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सहितको टोली खटाएर हेल्थ डेस्क सञ्चालन गर्ने छ । अत्यावश्यकीय सेवा र सामग्री बोक्ने गाडी बाहेक सबै सार्वजनिक सवारीसाधन आवागमन एक साता बन्द गर्ने निर्णय गरिएको समिति प्रवक्ता तथा स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

समितिले ७ जनाभन्दा धेरै भेला नहुन निर्देशन गरेको छ । प्रस्तावित डेडिकेटेड अस्पताल लेखनाथ सामुदायिक अस्पताललाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि समितिले गरेको छ । भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित १० वटै समितिले निरन्तर काम गर्ने र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेर नियमित अनुगमन गर्ने तथा दैनिक उपभोग्य बस्तु नियमित र सहज उपलब्धताका लागि सहजीकरण गर्न लगाउने निर्णय पनि गरिएको छ । आपूर्ति व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयका सचिव गणेश पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

कोरोना उपचारका लागि आवश्यक बजेट ब्यवस्था गर्न मुख्यमन्त्री आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । यसमा विभिन्न व्यक्ति तथा संघ–संस्थाले पनि सहयोग गर्न सक्नेछन् । प्रदेशमा रहेको विपद् व्यवस्थापन कोषको रकम समेत यही कोषबाट खर्च गर्ने निर्णय गरिएको छ । समितिले प्रदेशभित्रका सबै स्कूल, कलेज र विश्वविद्यालयहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन गरेको छ भने भेला, बैठक, तालिम, महोत्सव, गोष्ठी, सेमिनार लगायत कार्यक्रम बन्द गर्न आह्वान गरेको छ । धार्मिक स्थल, मठ, मन्दिर, गुम्बा, मस्जित, चर्च, सांस्कृतिक केन्द्र, सिनेमा हल, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, संग्रहालय, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब लगायत चैत मसान्तसम्म नै बन्द गर्न निर्देशन दिइएको छ । यसको अनुगमन प्रजिअले गर्नेछन् ।

कोरोना भाइरस शंकास्पद बिरामीको नमुना संकलन गरी परीक्षण गर्न प्रयोगशाला स्थापनाका लागि पहल गर्ने र तत्कालका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत ल्याब टेष्ट गर्ने, कोरोनाको उपचार र रोकथाममा खटिने कर्मचारीलाई बीमा, प्रोत्साहन भत्ता, सुरक्षा लगायतको प्रबन्ध प्रदेश सरकारले मिलाउने निर्णय भएको छ । जसका लागि आवश्यक सवारीसाधन सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संघ संस्थाबाट लिइने बताइएको छ ।गण्डकीमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन भएको छ भने प्रमुख सचिव हरिप्र्रसाद बस्यालको संयोकत्वमा समन्वय समिति गठन भएको छ । यसबाहेक अन्य १० वटा विषयगत समिति गठित छन् । सरकारले कोरोना उपचारमा सघाउने गरी ‘हेल्लो डाक्टर’ सेवा शुरु गरेको छ । ०६१–५२४०७४ नम्बरमा कोरोनाको उपचारबारे जानकारी लिन सकिनेछ । गण्डकीबाट हालसम्म १० वटा नमुना संकलन गरिएको छ । त्यसमध्ये ९ वटा को नतिजा नेगेटिभ आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width