गण्डकीमा एक हजार दुई सय बढी क्षयरोगी

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६
thumb

पोखरा । चालु आर्थिक वर्षको ८ महिनामा गण्डकी प्रदेशमा एक हजार २ सय ६१ जना क्षयरोगी भेटिएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्ममा कास्कीमा सबैभन्दा बढी तीन सय १७ जना क्षयरोगी भेटिएका छन् । सो अवधिमा मनाङमा भने क्षयरोगी भेटिएका छैनन् ।

विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गतवर्ष सो अवधिमा दुई हजार दुई सय ६० जना क्षयरोगी भेटिएका थिए । विगतका पाँच वर्षको तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा गण्डकी प्रदेशमा क्षयरोगीको संख्या ह्वात्तै घटेको छ । नेपालमा प्रत्यक वर्ष ४२ हजार नयाँ क्षयरोगी भेटिने गरेको र पाँच हजार पाँच सय जनाको मृत्यु हुने गरेको निर्देशनालयका क्षय–कुष्ठ निरीक्षक लक्ष्मण बस्यौलाले जानकारी दिए । नेपालमा प्रत्यक दिन एक सय १५ जना नयाँ क्षयरोगी भेटिने र प्रत्यक दिन १५ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको छ ।

नेपालमा सन् २०२१ सम्ममा क्षयरोगबाट प्रभावित नयाँ विरामीको संख्या २० प्रतिशतले र सन् २०३५सम्ममा ९० प्रतिशतले कम गर्ने लक्ष्य रहेको छ । सन् २०५० सम्ममा भने नेपाललाई क्षयरोग निवारण मुलुक बनाउने लक्ष्य लिइएको क्षय–कुष्ठ निरीक्षक बस्यौलाको भनाइ छ। एच्आइभी पोजेटिभमा क्षयरोग संक्रमण हुने सम्भावना बढी रहन्छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । एक जना क्षयरोगीले ग्रामिण क्षेत्रमा वर्षमा १० देखि १५ र शहरी क्षेत्रमा २५ जनासम्मलाई क्षयरोग सार्न सक्ने अनुमान गरिएको छ ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकि लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउँनु, खाना खान मन नलाग्नु, तौल घट्नु, छात्ति दुख्नु, श्वास फेर्न गाहे हुनु र खकारमा रगत देखिनु क्षयरोगका मुख्य लक्षण हुन् । धुम्रपान गर्ने व्यक्ति, लागुपदार्थ सेवन गर्ने व्यक्ति, श्वासप्रश्वासका दीर्घ रोगी, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, उमेर ढल्केका व्यक्ति, सिमेन्ट, गलैचा कम्पनी तथा ढुङ्गा, गिटी, कुट्ने मजदुर क्षयरोगका जोखिममा छन् । नियमित ६ महिनासम्म उपचार गरेमा क्षयरोग निको हुन्छ । सरकारले निःशुल्क क्षयरोगको उपचार गर्दै आएको छ । ‘कार्य अबको, क्षयरोगको अन्त्य’ भन्ने मूल नाराका साथ मङ्गलबार विश्व क्षयरोग दिवस मनाईदै छ । पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width