२० बेडको क्वारेन्टनाइन स्थल निर्माण

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६
shanja 1

पोखरा, ९ चैत । ट्राफिक तथा जनपथ प्रहरीले नाकाभित्र भित्रने सवारी साधन रोकेर यात्रुलाई ओराल्न व्यस्त छन् भने जनप्रतिनिधि र कर्मचारीहरु यात्रुलाई लामबद्ध बनाउन । त्यसैगरी हेल्थ डेक्समा खटिएका ११ जना स्वास्थ्यकर्मीलाई यात्रुको स्वास्थ्य परीक्षण गर्न भ्याइ नभ्याइ छ । हुलहुज्जत नियन्त्रण गर्न सिसीटिभीबाट प्रत्यक्ष निगरानी गरिएको छ । यो झलक हो पोखराबाट स्याङ्जा छिर्ने फेदीखोला गाउँपालिकाको कुभिण्डे भञ्ज्याङको ।

सिद्धार्थ राजमार्गको यात्रा गर्दा स्याङ्जाको प्रवेशद्वार फेदीखोला गाउँपालिकामा आफ्नो स्वास्थ्य परीक्षण नगरी यात्रा अगाडि बढ्न सकिदैन । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्नका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाले आइतबारदेखि तयारीलाई थप तीव्रता दिएको छ । कुभिण्डे भन्ज्याङमा राखिएको हेल्थ डेक्सबाट सुरुवातकै दिनमा ११ हजार बढी यात्रुको स्वास्थ्य परीक्षण गरी पठाइएको छ । कोरोना त्रासले शहरबाट ग्रामिण क्षेत्रमा जाने यात्रुको चाप, त्यसमाथि देशको व्यस्त राजमार्ग सिद्धार्थ राजमार्ग, पोखरा महानगरबाट स्याङ्जा हुँदै देशका विभिन्न जिल्लामा प्रवेश गरेका सवारी साधनमा सवार यात्रुलाई ओराल्दै चेकजाँच गर्न हम्मेहम्मे परेको थियो ।

इन्फारेड, थर्मोमिटरबाट ज्वरो नाप्दा कुनै यात्रुको पनि १ सय डिग्री फरेनहाइट भन्दा माथि ज्वरो नदेखिएको फेदीखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेलले जानकारी दिए । बढी ज्वरो भेटिएमा वा संक्रमणको आशंका देखिएको खण्डमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रिफर गर्न २ वटा एम्बुलेन्स तयारीमा राखिएको संयोजक पौडेलले बताए ।

हेल्थ डेक्सबाट परामर्श दिने तथा जानकारीमुलक पर्चा वितरण गरिएको थियो । त्यसैगरी स्थलमा साबुन, सेनिटाइजर सहितको स्वस्थ हात धुने पानीको पनि व्यवस्था गरिएको छ ।
आइतबार नै बढि भाडा लिने २० वटा लामो दुरीका सवारीलाई नियन्त्रणमा लिई भाडा फिर्ता गरिएको गाउँपालिकाले जनाएको छ । यात्रु चाप र त्रासलाई फाइदाको माध्यम बनाएर बढी भाडा लिने सवारीलाई गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अग्रसरतामा नियन्त्रणमा लिइएको थियो । कालोबजारी नियन्त्रणको लागि गाउँपालिकाले सुष्म निरीक्षण समिति पनि परिचालन गरेको छ । यसअघि हेल्थ डेक्सको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीता सुन्दासले सम्पूर्ण स्थानीय तहले यसैगरी तीव्र तयारी गरेमा संक्रमण भित्रन नसक्ने बताइन् । बिहान ८ बजेबाट बेलुका ६ बजेसम्म दिनहुँ हेल्ड डेक्स सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम गाउँपालिकाले सुरु गरेको छ । गाउँपालिकाको वडा नं. २ मा अवस्थित सिद्धार्थ बहुमुखी क्याम्पसका ८ वटा कोठालाई सुविधासम्पन्न क्वारेन्टनाइन स्थलको रुपमा प्रयोग गरिएको हो । २० वटा बेडको सुविधासम्पन्न स्थलमा गाउँपालिकाकै लागतमा इन्टरनेट, शुद्ध पिउने पानी, स्वास्थ्यकर खाना–खाजा, पुस्तक–पत्रपत्रिकाको व्यवस्था रहेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारिवारिक वातावरण सृजन गरिएको अध्यक्ष सुवेदीले बताए ।‘

Related News

सम्बन्धित समाचार

hero news full width