फेवातालमा डुंगा चल्न बन्द

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
20200316_101005

पोखरा, ९ चैत । पोखराको फेवातालमा डुंगा समेत नचल्ने भएका छन् । फेवा डुंगा व्यवसायी समितिको आइतबार बसेको बैठकले आगामी एक सातासम्म डुंगा नचलाउने निर्णय गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न डुंगा नचलाउने निर्णय गरिएको समिति अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए ।

प्रशासनले डुंगा नचलाउन निर्देश गरेपछि समितिको बैठकले पहिलो चरणमा एक सातासम्म डुंगा नचलाउने निर्णय गरेको उनले जनाए । उनले भने, सरकारले समेत २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने भनेको छ । कसरी व्यवसाय गर्नु । त्यसैले अहिलेलाई बन्द गर्ने निर्णय गरियो ।

पर्यटकीय सहर पोखरामा पछिल्लो महिना आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल शुन्य प्रायः भएपछि डुंगा व्यवसायमा समेत नराम्ररी असर परेको डुंगा व्यवसायी समितिका सहकोषाध्यक्ष तारा विश्वकर्माले बताइन् ।

फेवाताल किनारका विभिन्न ८ वटा घाटमा हाल ८ सय वटा डुंगा चल्छन् । सबैभन्दा बढी बाराही मन्दिर जान बाराहीघाटबाट ३ सय ५६ डुंगा संचालित छन् ।

फेवातालमा बाराहीघाट सहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुंगा चल्छन् । सबै डुंगाको लागि आलोपालो प्रणाली लागू गरिएको समितिका क्यू मास्टर अर्जुन नेपालीले बताए ।

फेवातालमा डुंगा चलाएरै ५ सय जना डुंगा चालकको रोजीरोटी चल्ने गरेकोमा कोरोनाकै कारण उनीहरुको गाँस गुम्ने डर छ ।

फेवातालमा डुंगा व्यवसाय व्यवस्थापनका लागि २०५१ सालमा बुद्धिबहादुर नेपालीको अध्यक्षतामा फेवा डुंगा व्यवसायी समिति गठन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width