जिल्ला प्रवेश गर्ने नाकामा चेकजाँचमा कडाइ, १ जनालाई क्वारेन्टाइनमा राखियो

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
Helth Dex 2

लमजुङ ।कोरोना भाइरस संक्रमणबाट बच्न लमजुङको प्रवेश नाकामा हेल्थ डेक्स राखेर यात्रुको चेकजाँचमा कडाइ गरिएको छ । चेकजाँचक्रममा दुवईबाट आएका १ जनामा उच्च ज्वरो देखिएको हुँदा शनिबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।

सुन्दरबजार नगरपालिकाले जिल्लाको प्रवेश नाका रहेको पाउँदी बजारमा हेल्थ डेक्सको औपचारिक थालनी गरी यात्रुको चेकजाँच शुक्रबारदेखि शुरु गरेको हो । पहिलो दिन २ हजार २ सय ८९ जनालाई जाँच गरिएको थियो । तीमध्ये १६ जनालाई ज्वरो आएको देखियो । तीमध्ये १ जनामात्र विदेश (दुवई) बाट आएका पाइएको हुँदा उनलाई तत्कालै जिल्ला अस्पतालमा थप उपचारका लागि पठाएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरजी तिवारीले बताए ।

उनका अनुसार उनलाई शुक्रबार रातभर ज्वरो नदेखिएको अस्पतालले भन्यो । उनले भने, ‘त्यसपछि ती व्यक्तिलाई उनको डेरासमेत सुन्दरबजारमै रहेको करणले शनिबार बिहानदेखि उनी हाम्रो पूर्ण निगरानीका साथ होम क्वारेन्टाइनमा छन् ।’हेल्ड डेक्सको सम्पूर्ण खर्च नगरपालिकाले बेहोर गरेको सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले बताए । उनका अनुसार नगरकार्यपालिका बैठकले यो स्थान जिल्लाको प्रवेश नाका संवेदशील भएको ठहर गर्दै हेल्थडेक्स राख्ने निर्णय गरेको थियो । मिश्रले भने, ‘तर हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार नै कार्य सञ्चालन गरेको छौं, एम्बुलेन्स सेवाको बन्दोबस्त जिल्ला प्रशासन कार्यालयबाट भएको छ ।’

पाउँदी बजारमा रहेको हेल्थ डेक्स बिहान ८ देखि १ बजेसम्म र १ बजेदेखि ७ बजेसम्म २ जना स्वास्थ्यकर्मीका साथमा २ जना कार्यालय सहयोगी रहेको तिवारीले बताए । उनका अनुसार शनिबार ५ बजेसम्म २ हजार ५ सय १७ जनाको हेल्थ चेक गरिएकोमध्ये १३ जनामा ज्वरो देखिएको थियो । उनीहरु छिमेक जिल्लाबाट नै आएको हुँदा परामर्श दिएर छाडिएको छ ।
उता, मध्यनेपाल नगरपालिकाले पनि तनहुँको नाका दुई पिप्ले र कास्कीतर्फको नाका रामबजारमा हेल्ड डेक्स राखेर यात्रुको चेकजाँच गर्ने काम बिहीबारदेखि नै शुरु भएको छ ।

कोरोनाकै हल्लाको कारणले गर्दा शनिबार सदरमुकाम बेसीशहर बजार सुनसान रह्यो । कोरोना भाइरसका कारणले गर्दा स्कूल र कलेज बन्द भएपछि बजारमा देखिने चहलपहल पनि एकाएक ठप्प भएको छ । जिल्लाबासीमा एक खालको त्रास छाएको छ । स्थानीय तहले आ–आफ्नो पायक तथा छिमेकी जिल्लाबाट आउने नाकामा कडाइ गरी हेल्थ डेक्स सेवा सञ्चालन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width