सुनसान बन्दै पोखराका होटल

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६
288833_17091709570056465940

विजय नेपाल -पोखरा। पोखराको लेकसाइडस्थित दरबार इन होटल अहिले सुनसान छ । लेकसाइडको दरबारमार्ग स्ट्रिट नं. ९ मा रहेको यो होटल संचालनको ५ वर्ष पुग्यो । तीन दाजुभाइ भुवन, आकाश र पृथ्वी लामिछाने मिलेर संचालन गरेको यो होटलमा सबैगरी कुल ८ करोड रुपैयाँ लगानी परेको छ । लगानी उठाउनै धौ–धौ परेको बेला यतिखेर होटलका ३३ वटा रुममध्ये मात्र २/३ वटामा मात्र ‘गेष्ट’ छन् ।

रिसेप्सनिष्ट जनु रानालाई पनि पहिलेजस्तो गेष्टसँग फेस गर्नु गरेको छैन । फुर्सदिली छन् । बिहान आयो, दिनभर गेष्ट को आउँछन् भनी कु¥यो । साँझ फर्कियो । जनुका अनुसार २ महिनायता गेष्ट घट्दै गएकोमा केही सातायता भने स्वात्तै घटेको छ । पहिले गरिएका बुकिङ समेत धमाधम ‘क्यान्सिल’ भएको छ ।

दरबार इन संचालकमध्येका एक पृथ्वी लामिछानेले भने, ‘भूकम्पपछि खस्किएको पर्यटन व्यवसाय फेरि थला प¥यो । पोखरा घुम्नेहरुले धमाधम बुकिङ रद्द गरेपछि गेष्ट पाउनै मुस्किल छ । अब त गेष्ट नै छैनन् । रित्तै हुने भो ।’ उनका अनुसार मार्च सहित अप्रिलसम्मको बुकिङ समेत रद्द भइसकेको हो । यहाँ कार्यरत ७ जना कर्मचारीलाई कम्तीमा १५ दिनसम्म बिदा दिइ घर पठाउने बाध्यतामा आफूहरु रहेको गुनासो उनको छ ।

यस्तै, द यात्रा कोर्टयार्ड होटल एण्ड रिसोर्ट पनि यतिखेर सुनसान छ । पर्यटकको चहलपहल हुने सो होटलमा केही सातायता गेष्ट अभावमा ४६ वटै रुम खाली हुन गएका छन् । होटलका महाप्रबन्धक अरुण गिरीले कार्यरत ५५ जना कर्मचारीमध्ये क्लीनर केही र रिसेप्सनमा केही बाँकी राखेर १ महिनाको लागि बिदा दिने योजनामा रहेको बताए । विश्वभर आक्रामक रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले कारण पर्यटकीय नगरी पोखरा प्रभावित बन्दा दरबार इन र द यात्रा जस्तै पोखराका सबैजसो होटलको दुर्दशा त्यस्तै छ । यहाँका सानादेखि तारेहोटलमा तेस्रो मुुलुकका पर्यटक मुस्किलले भेटिन्छन् ।

कोरोनाकै कारण हवाइ उडान छेकिँदा विदेशी पर्यटकहरु यहाँ आउन नसकेका हुन् । पर्यटन व्यवसाय यतिखेर नराम्ररी खस्किएको र बैंकको लोन (ऋण) समेत समयमै बुझाउन नसक्ने अवस्था आएको पर्यटन व्यवसायीको गुनासो छ । दरबार इन संचालक पृथ्वी लामिछानेले अब पर्यटन व्यवसाय रिकभर हुन समय लाग्ने हुँदा बैंकहरुलाई ब्याजदर घटाउन लगाउन सरकारले ध्यानाकर्षण गर्नुपर्ने बताउँछन् ।

यहाँको पर्यटन क्षेत्रमा समग्र ४ खर्बको लगानी गरेका व्यवसायीले कोरोनाकै कारण बैंकको किस्ता धान्न नसकेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले बताए । होटलको अकुपेन्सी दर नराम्ररी खस्किएको छ । विगतका वर्षमा यस सिजनमा ७० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले घटेर १० प्रतिशतभन्दा कम भएको हो । पर्यटन व्यवसायीहरु यतिखेर सो अवस्थाबाट गुज्रिएसँगै कोही पर्ख र हेरको अवस्थामा छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएका पर्यटन व्यवसाय बन्द भएका छन् । व्यवसायीका अनुसार यतिखेर बुकिङ रहेका ७० प्रतिशत बुकिङ रद्द भैसकेको छ । टूर अपरेटरले बुकिङ लिन छाडेका छन् ।

पोखरामा हाल सानादेखि तारेहोटलसम्म गरी पर्यटकीयस्तरका ७ सय वटा होटल संचालित छन् । पश्चिमाञ्चल होटल व्यवसायी संघमा मात्रै ४ सय होटल दर्ता छन् । पोखराको पर्यटन क्षेत्रमा हाल ४ खर्बको लगानी छ । ३० हजार बेड छन् भने होटल व्यवसाय मात्रै १७ हजार कर्मचारी कार्यरत रहेकोमा उनीहरुको भविष्य अब कोरोनाकै कारण संकटमा परेको छ ।
होटल नै ‘लक डाउन’ गरेर आइसोलेसनमा बस्नुपर्ने अवस्था आउन थालेकोमा भन्दै पर्यटन व्यवसायी चिन्नित बनेका छन् ।होटलमात्र हैन, यहाँका पर्यटनसँग सम्बन्धित ट्राभल एजेन्सी, अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जीजम्म, जीप फ्लायर चल्न छाडिसकेका छन् । पर्यटक जान छोडेपछि अन्नपूर्ण पदमार्ग क्षेत्रका होटलहरू बन्द हुने अवस्थामा छन् ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीका अनुसार यस वर्षको गत फेब्रुअरीमा १२ हजार ४ सय ९१ जना विदेशी पर्यटकले पोखरा भ्रमण गरेका छन् । तीमध्ये भारतबाट मात्रै ६ हजार २ सय ७२ र तेश्रो मुलुकबाट ६ हजार २ सय १९ छन्। फेब्रुअरीमा चीनबाट पोखरा घुम्ने पर्यटक निकैै कम भए । यसैबीच, कोरोनाको संक्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि थपेर बसाइँ लम्बाउन बाध्य भएका छन् । नेपालबाट सिधा हवाइ उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भइ आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइँ अवधि लम्बाएका हुन् । जसका लागि पोखरास्थित अद्यागमन कार्यालयमा पर्यटकको विगतभन्दा अल्लि बढी चहलपहल छ ।

गत वर्षको माघ र फागुनमा पोखरा आएका पर्यटकमध्ये १ हजार ६६ जनाले भीसा थपेर बसाइँ लम्बाएका थिए । तर, चालु आवको माघ र फागुनमा ९ सय ९४ जनाले भीसा थप गरे ।
कार्यालय प्रमुख चेतराज आचार्यले तेस्रो मुलुकबाट आएका पर्यटक एक सातायता धमाधम भीसा थपका लागि कार्यालय आएको जानकारी दिए । भीसा थप बढीमा १ सय ५० दिनसम्म थप्न सकिन्छ । २०७२ सालमा नेपालमा गएको विकासकारी भूकम्पभन्दा पनि पृथक समस्या हो । समय–समयमा प्राकृतिक विपत्ति समेत सामना गर्दै आएका पर्यटन व्यवसायीले यतिखेर बैंकिङ ऋण पुनःर्संरचना गरिदिन सरकारसँग आग्रह गर्दै पर्यटनसम्बद्ध संघसंस्थाका पदाधिकारी केही दिन अघि राजधानी काठमाडौं समेत पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width