मुख्यमन्त्रीको सम्पत्ति ५१ तोला सुन, ९० तोला चाँदी, कृषिमन्त्रीसँग एक हल गोरु

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७६
Gandaki-province-Government-office-_20190213143214-768×515

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण २ वर्षपछि सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता रामशरण बस्नेतले बुधबार मुख्यमन्त्रीसहित ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरे । सामाजिक विकास मन्त्री नरदेवी पुन व्यस्त भएका कारण केही दिनमा सार्वजनिक हुने बस्नेतको भनाइ छ ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार सबैभन्दा धनी मुख्यमन्त्री देखिएका छन् । उनीसँग ५१ तोला सुन छ र ९० तोला चाँदी छ । दुवै गहना खरिद, दाइजो, पेवा र उपहारबाट पाएको उनले बताएका छन् । उनकै नाममा गिलुङ ८ मा १० रोपनी ३ पैसा २ दाम जग्गा छ । गिलुङ ८ र ९ नम्बर वडामा २६ रोपनी १३ आना २ पैसा २ दाम छ । उक्त जग्गा अंशबन्डाबाट पाएको विवरणमा उल्लेख छ । गुरुङले बैंक खातामा ब्यक्तिगत १६ लाख ५० हजार रुपैयाँ नगद देखाएका छन् । एभरेष्ट बैंक पोखरामा १५ लाख ५० हजार रुपैयाँ र सिभिल बैंकमा १ लाख रुपैयाँ रहेको विवरण बस्नेतले सुनाए ।

गुरुङकी श्रीमती कुमारीमुनी गुरुङको नाममा २०४५ सालमा ४५ हजार रुपैयाँमा खरिद गरेको एउटा घर र जग्गा छन् । सिभिल बैंक क्होंलासोथरमा ३ लाख ५० हजार, जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा ५ लाख, राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा २ लाख रुपैयाँ छ । उनका छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा १० लाख, नविल बैंकमा ६० लाख, पिपुल्स हाइड्रोपावरमा १५ लाख बराबरको शेयर र २ वटा मोटरसाइकल तथा छोरी ईश्वरी गुरुङको नाममा एउटा स्कुटर र आशकुमारी गुरुङको नाममा गिलुङमा १ तले २ वटा घर छन् भने २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा छ । यो जग्गा पनि अंशबन्डाबाट प्राप्त भएको बताइएको छ । विज्ञान पेशाले पाइलट हुन् भने गुरुङकी श्रीमती कुमारीमुनी क्होंलासोथर गाउँपालिका उपाध्यक्ष तथा रिटायर्ड शिक्षक हुन् । मुख्यमन्त्रीले सम्पत्ति विवरणमा ९ वटा भेँडा र ७ वटा बाख्रा पनि समावेश गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको तनहूँ भीमाद–९, भानुमतीमा घर छ । तर उनी बसिरहेको घर आमाको नाममा छ । पैतृक सम्पत्ति आमा र बाबुको नाममा छ भने पछि खरिद गरिएका सम्पत्ति उनको नाममा छ । २० रोपनी ५ आना, १७ रोपनी ७ आना, १ रोपनी ७ आना, २६ रोपनी २ आना, २४ रोपनी गरी विभिन्न कित्तामा करिब ९० रोपनी पैतृक जग्गा छ । ५ दाजुभाइमा बाँडफाँट हुन बाँकी छ । उनको नाममा पोखरा १२ मा २ सय २५ वर्गमिटर जग्गा छ भने ललितपुरको धापाखेलमा ५ आना घडेरी छ । फलेबासमा ६ आना जग्गा श्रीमती कृष्णकुमारी श्रेष्ठको नाममा छ । सो माइतीबाट प्राप्त गरेको उल्लेख छ । गुरुङसँग ४ तोला सुन र उनकी श्रीमतीसँग १५ तोला सुन छ ।

नयाँ कृषि अभियान सहकारीमा १० हजार, तनहूँ सूचना समाज सहकारी २५ हजार, सेल्फ इन्भेष्टमेण्ट प्रालिमा ५ हजार शेयर संख्या, गण्डकी प्रपर्टी प्रालिमा १ लाख शेयर संख्या, पोखरा रोयल सहकारीमा १ हजार शेयर, सेल्फ इन्भेष्टमेन्ट प्रालिमा २ जना छोराको नाममा १० हजार शेयर संख्या, रोयल दिदीबहिनी किचनमा २ लाख ७५ हजार रुपैयाँ, क्लीन कन्सर्न, पोखरामा २ लाख रुपैयाँ शेयर लगानी गरेका छन् । उनको स्कारपिओ गाडी छ । किस्ता तिर्न बाँकी रहेको गुरुङले उल्लेख गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको ब्यक्तिगत नाममा ५ रोपनी १३ आना जग्गा र माछापुच्छ«े बैंकमा २५ हजार, एभरेष्ट बैंकमा १ लाख ५० हजार तथा कृषि विकास बैंकमा ३२ कित्ता शेयर छ । तनहूँको आवुँखैरेनीमा श्रमति धनकुमारी चुमानको नाममा एउटा घर र २ रोपनी, १ आन, ३ पैैसा जग्गा पैतृक सम्पत्ति छ भने ८ आना र ४ रोपनी ६ आना गरी २ कित्तामा जग्गा छ । चुमानले पैतृक सम्पत्तिको रुपमा १० तोला सुन देखाएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको करिब ५० रोपनी जग्गा नारेश्वरमा छ भने बाबु र हजुरआमाको नाममा २ वटा घर छ । १४ तोला सुन र १० तोला चाँदी पनि छ । एनएमबी बैंकमा ५ हजार १ सय २, ओम डेभलोपमेण्ट बैंकमा ७ सय रुपैयाँ, नबिल बैंकमा ७ हजार, एभरेष्ट बैंकमा ४ लाख ५० हजार तथा कृषि विकास बैंकमा २ सय २३ कित्ता शेयर लगानी गरेका छन् । उनकै नाममा ४० लाख रुपैयाँको एउटा बस छ । नमुना कृषि तथा पशुपक्षी फार्म छ भने गोरखा बुक्स एण्ड स्टेशनरीलाई आम्दानीको श्रोतको रुपमा उपभोग गरिरहेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसँग पर्वतको फलेबासमा ५ रोपनी ५ आना जग्गा र घर छ । नगद ५ लाख रुपैयाँ छ भने १० तोला सुन र ५० तोला चाँदी छ । सबै पैतृक सम्पत्ति भएको उनले दाबी गरेका छन् । यस्तै, बाणिज्य बैंकमा ३ लाख ५० हजार, ग्लोवल आइएमई बैंकमा १ लाख ५० हजार, गण्डकी विकास बैंकमा १ लाख, एभरेष्ट बैंकमा ४ लाख १० हजार, कृषि विकास बैंकमा ३ सय कित्ता साधारण शेयर उनकै नाममा छ । ३५ लाख कृषि विकास बैंकबाट ऋण लिएका उनले २० लाख तिरेका छन् भने १५ लाख बाँकी छ । छोेरा र छोरीको नाममा मोटरसाइकल र स्कुटर छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको नाममा खासै सम्पत्ति छैन । संयुक्त परिवार रहेको उनको बुबा भीमबहादुर थापाको नाममा गोरखा नगरपालिका २ मा घर र ४२ रोपनी जग्गा छ भने भाइहरुको नाममा गोरखा–६ मा घडेरी छ । उनको परिवारमा ३५ तोला सुन छ । कृषि विकास बैंक गोरखामा १ लाख र एभरेष्ट बैंकमा ३ लाख ७ हजार ४ सय २७ रुपैयाँ छ । दराँैदी बचत तथा ऋण सहकारी संस्थामा १ सय कित्ता शेयर लगानी गरेका छन् । घरमा २ गोरु र ७ वटा बाख्राको विवरण मुख्यमन्त्री कार्यालयमा पेश गरेका छन् । सार्वजनिक लेखा समितिले ३ पटकसम्म सम्पत्ति विवरण माग गरेको थियो । समितिले दिएको निर्देशनपछि मन्त्रीहरुले सम्पत्ति विवरण तयार गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width