लोकप्रियता बटुल्दै तोरीखोला होमस्टे

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६
Torikhola

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका स्थित तोरिखोलामा संचालित होमस्टेमा रहेको एक घर । तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, १ चैत । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ स्थित तोरीखोलामा संचालित सामुदायिक होमस्टेले पछिल्ला महिनाहरुमा लोकप्रियता हाँसिल गर्न थालेको संचालकहरुले बताएका छन् । गलकोट स्थित मध्यपहाडी लोकमार्गसँगैको नरेठाँटीबाट सवारी साधनमा केही मिनटमा नै पुग्न सकिने भएर पनि गाउँ सम्मको पहुँच सहज रहेको छ ।

पछिल्लो समयमा आफूहरुले संचालन गरेको होमस्टेमा पाहुनाहरु समेत आउने क्रम बढेर गएको तोरिखोला सामुदायिक होमस्टेका संचालक कुमार पुनले जानकारी दिए । गाउँकै उत्पादनमा रमाउन चाहने पाहुनाहरु यो होमस्टेमा पुग्ने गरेको उनले सुनाए । कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला र गेडागुडीको अचार पनि यहाँ खान पाइन्छ । गाउँ नजिकैको मध्यपहाडी लोकमार्ग हुँदै चर्चित शिकार आरक्ष ढोरपाटन जाने मार्ग नजिक भएर पनि तोरिखोलाले होमस्टेमा लोकप्रियता पाउन थालेको स्थानीयको बुझाई छ । चिटिक्क परेका घर भएको यो गाउँका पाँच घरमा होमस्टे सुविधा उपलब्ध छ ।

सामुदायिक भवनमा सत्कारसहित ‘सगुन’ खुवाउने कार्यक्रमपछि पाहुना घरवासमा बाँड्ने गरिन्छ । होमस्टेमा कम्तीमा २५ जना पाहुनाको क्षमता छ । कूल ६३ घरधुरी रहेको तोरीखोला गाउँमा अधिकांश मगरहरुको बसोबास रहेको छ । मगर संस्कृतिमा आधारित नाचगान देखाएर पर्यटकलाई स्वागत गर्ने गरिएको छ । मारुनी, थाली लगायतका स्थानीय नाचहरु समेत पाहुनालाई देखाउने गरिएको छ ।

होमस्टे सेवासँगै गाउँको माथिपट्टि रहेको कालीलेक धुरीलाई पनि पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको पुनले सुनाए । तोरीखोलाबाट करिब डेढ घण्टाको उकालो चढेपछि पुगिने कालि लेकबाट देखिने सुन्दर दृष्यमा पनि पाहुनाहरु मोहित हुने गरेका छन् । यो डाँडा समुन्द्र सतहबाट दुई हजार तीन सय मिटर उचाई सम्म आकाशिएको छ । राष्ट्रिय फूल गुराँस, धवलागिरिलगायतका हिमशृङ्खलासहित बाग्लुङका गलकोट, ताराखोला लगायतका विभिन्न स्थानको दृश्य पनि यहाँबाट देख्न सकिन्छ ।

गाउँ परापुर्व कालदेखि नै तोरीको उर्वर स्थल भएका कारण नाम नै तोरिखोला रहन पुगेको गाउँले बताउँछन् । यसैगरी गाउँहूँदै तोरीखोला समेत बग्ने गरेको छ । तोरीकै कारण गाउँको नाम रहने पनि केही दशक यता अन्य खेति समेत यहाँ गर्ने गरिएको छ । सुन्दर गाउँ तथा प्राकृतिक र सांस्कृतिक रुपमा पनि संभावनायुक्त भएर तोरिखोलामा होमस्टे सुरु गरिएको गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले सुनाए ।

सो गाउँपालिका मात्र चार वटा होमस्टे संचालनमा रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । केही दिन अघि वडामा संचालित होमस्टे तालिममा तोरिखोलबाट समेत सहभागिता रहेको जानकारी दिंदै उनले सरसफाईका तरिका, गाउँले उत्पादनको बजारिकरण र पाहुना सेवा लगायतका तरिका सिक्ने अवसरमा सो तालिमले प्रदान गरेको जानकारी दिए ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले तोरिखोला होमस्टेको सत्कारबाट आफू समेत प्रभावित भएको भन्दै भिटोफ गण्डकीको अगुवाईमा हालै मात्र गलकोटमा सामुदायिक होमस्टे तालिम समेत सम्पन्न गरिएको जानकारी दिए । जिल्लामा संचालित दुई दर्जन बढी होमस्टेका पाँच दर्जन सहभागिले सो अवसरमा तालिम लिएको उनले सुनाए ।

भिटोफ बाग्लुङका अध्यक्ष चुडामणि छन्त्यालले जिल्लामा संचालित होमस्टेले स्थानीयको जीवनस्तर उकास्न केही रुपमा भने पनि मद्दत पु-याउने विश्वास व्यक्त गरे । हरेक गाउँ, पर्यटकीय ठाउँ भन्ने अभियानलाई सार्थक रुप दिन भिटोफले होमस्ट प्रबर्धन र सो सम्बन्धी तालिम संचालन गर्दै आएको भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width