कोरोनाले खल्लो भो होली

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७६
RadhikaKandel_Pokhara_RSS_@^_(1)

विजय नेपाल -पोखरा ।  विगतमा फागु पूर्णिमाको दिन पोखराको लेकसाइडमा खुट्टा टेक्ने ठाउँ हुन्थेन । विदेशी तथा आन्तरिक पर्यटक आपसमा होली खेल्दै रमाइलो गर्थे । होली खेल्नेको भीड बढेपछि सो क्षेत्रमा सवारी चल्न समेत रोक लगाउनुपथ्र्यो ।तर सोमबारको दृश्य भने फरक थियो । लेकसाइडमात्र हैन पोखराको मुख्य चोक सुनसानप्रायः थिए । केही विदेशी पर्यटक तथा केटाकेटीले यसपालिको होली धाने । कारण थियो, कोरोना भाइरस संक्रमण त्रासले होली शून्यतामै सकियो ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको संक्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रंग नदल्न आह्वान गरेपछि पर्यटकीय क्षेत्र लेकसाइडस्थित समग्र पोखरामा होली निरश बन्न पुगेको हो ।केही विदेशी पर्यटक तथा केटाकेटीले आपसमा रमाइलो गर्दै होली खेलेको पाइए पनि आपसमा लोला हान्ने, रंगको पानी छ्याप्ने, मानिस नै नचिन्ने गरी बाइकमा बेतोडमा हुँइकिने देखिएनन् । लेकसाइडसहित न्यूरोड, महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, अमरसिंहचोक, राष्ट्र बैंकचोक, बिरौटा, छोरेपाटन, लामाचौर, बगर, मालेपाटन, लेखनाथ लगायतका क्षेत्र सुनसान प्रायः थिए ।

घरपरिवारका सदस्यसँग आपसमा होली खेलेर निधारमा रंग पोतेका केही सर्वसाधारण फाट्टफुट्ट रुपमा बाहिर निस्केको देखिन्थ्योे । होलीका पूर्व घोषित कार्यक्रमहरु धमाधम रद्द भए । रेवान पोखराले लेकसाइडमा होली महोत्सवलाई निरन्तरता दिएन ।सवारीसाधन पातलो संख्यामा भएकाले ट्राफिक जाम कहीँकतै देखिएन । कोरोनाकै कारण सार्वजनिक सभा समारोहसहित होली विशेष कार्यक्रम स्थगित भएका थिए ।  विद्यालयस्तरका केटाकेटीहरु पनि भोलिपल्टको परीक्षा तय भएकोले उत्तिसाह्रो होली खेल्न पाएनन् । गाडी रिजर्भ नै गरेर होली खेल्दै हिँड्ने मानिस पनि देखिएनन् ।चिसो नघटेका कारण पानी छ्याप्दा कोरोनाका जीवाणुले असर गर्नसक्ने भएकाले पनि आममानिस यस वर्ष सचेत भएका हुन् ।

होलीको दिन सम्भावित दुर्घटना तथा क्षति कम गर्न पोखरा शहरका मुख्य चोकमा सुरक्षाकर्मी समेत तैनाथ गरिएको थियो ।उता, जिल्ला प्रशासन कार्यालय कास्कीले पनि यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले फागु पर्वमा भीडभाड नगरी सजग रहँदै मनाउन प्रशासनले आग्रह गरेको थियो । दुई चार जना साथीभाइ आपसमा मिलेर सौहार्दपूर्ण रुपमा मनाउन सकिएपनि धेरै मानिसको भीडभाड र होहल्ला गरी कुनै पनि कार्यक्रम नगर्न र सोविपरीत कार्य भएको पाइए कारबाही गर्न बाध्य हुने प्रजिअ रमेशकुमार केसीले अघिल्लो साता सूचना जारी गर्दै चेतावनी दिइसकेका थिए । यस्तै, प्रशासनले कोरोनाका कारण जिल्लामा कुनै पनि सभा–समारोह, भेला, मेला नगर्न आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width