‘घर चुलोले छोडेकै छैन, हाम्लाई सजिलो कहाँ छ ?’

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७६
women day (1)

पोखरा । ‘सुख आयो भन्छन् । तर हामीलाई घर चुलोले छोडेकै छैन । समस्याले थिचेको हुनाले हामी आफै पछाडि परेका छौं । बिहान उठ्नै गाह्रो हुन्छ । सकि नसकी उठेर एकखेप पानी ल्याउँदा बिहान बित्छ । पुरुष उठ्दा खाना पाक्दैैन । उल्टै हप्की दप्की खानुपर्छ । हाम्लाई सजिलो कहाँ छ ?’

कास्कीको माछापुच्छ«े गाउँपालिकाकी इन्दिरा परियारलाई कुनै दिवसले छोएकै छैन । आफ्नै अग्रजले शुरु गरेको आन्दोलन सम्झिने फुर्सद पनि उनलाई छैन । परियारजस्तै गंगा जिसी पनि घरकै बन्धनले बाहिर निस्किन भ्याउँदिनन् । ‘घरको कामले बाँधेर राखेको छ । नारी दिवसमा पनि निस्किन सक्दैनौं । पुरुषहरुले पनि महिलालाई अघि बढ्न दिँदैैनन्,’ उनले भनिन्, ‘ठाउँ–ठाउँमा समिति गठन हुन्छ । महिला नेतृत्व गरेको कतै छैन । फर्मेट पूरा गर्नुपर्ने ठाउँमा महिलालाई राखिन्छ । नत्र महिलालाई अघि बढाउँदैनन् ।’

घरको एकसरो काम सकेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउन भेला भएका घाचोकका महिलाहरु देशमा आएको परिवर्तन गाउँसम्म नछिरेको गुनासो गर्छन् । ‘राष्ट्रपति महिला हुनुहुन्छ । माथिल्ला निकायमा पनि महिलाको पहुँच छ । गाउँपालिकादेखि प्रदेश र केन्द्रमा पनि महिलाहरुको सहभागिता छ,’ उनीहरु भन्छन्, ‘तर त्यसको प्रभाव गाउँमा परेन । महिलाहरुको बोली निर्णय गर्ने बेला अझैपनि सुनिएन ।’ स्थानीय कमला रानाभाट महिलाको कामको मूल्याङ्कन परिवारदेखि राज्य तहसम्म नभएको बताउँछिन् । ‘प्रतिनिधि चाहिन्छ महिला हुनैपर्छ भन्ने ठाउँमा मात्रै राखेका छन् । नत्र नारीहरु कुनै ठाउँमा छैनन् । हामी पुरुषभन्दा बढी हुन्छौं भनेको होइन । समान हुन्छौं भनेको हो । तपाईंहरुसँगै हिड्छौं भनेको हो । समानता चाहिएको हो,’ उनले भनिन्, ‘हामी हेरेर बस्छौं भाँडा माझ, कपडा धोईदऊ भनेको होइन । घरमा भएको काम सँगै मिलेर गरौं भनेको हो । बाहिर पनि सँगै निस्कौं भनेको हो । एक्लै हिड्छौं भनेको होइन ।’

घाचोक महिला सञ्जालले १ सय १० औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा अन्तरक्रिया, दिदीबहिनी भेटघाट तथा चियापान कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अन्तरपाटी महिला सञ्जाल गण्डकी सदस्य तथा नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्र्रशिक्षण प्रतिष्ठान सदस्य सरस्वती गुरुङले परिवर्तनका लागि घरबाटै आवाज उठाउनुपर्ने बताइन् । ‘आवाज उठाउने भनेको आन्दोलन गर्ने भनेको होइन । अधिकार खोज्ने भनेको हो । संविधानले दिएको अधिकार हामीले खोसेर पनि लिन सक्नुपर्छ,’ उनले भनिन्, ‘महिलाहरु पनि क्षमता बढाएर आरक्षण कोटाबाट माथि उठ्नुपर्छ । कार्यकारी पदमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्छ ।’

सञ्जाल अध्यक्ष टेकनशोभा गुरुङले महिलाको मुद्दामा सबै एकजुट हुन नसकेको कारण समस्या निराकरण नभएको बताइन् । ‘महिलालाई समस्या पर्छ । हामीहरु नै झगडा गर्छौं । अर्काको कुरा काटेर निचो बनाउँछौं,’ उनले भनिन्, ‘पुरुषले हाम्रो समस्या बुझ्ने भए यति आन्दोलन किन गर्नुपथ्र्यो ? पुरुषलाई पनि साथमै लिएर हामी हाम्रो अधिकारको लागि एकजुट हुनुपर्छ ।’ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बालकुमारी लम्सालले गरिन् भने स्वागत कोषाध्यक्ष शक्ति दवाडीले गरिन् । कार्यक्रममा सञ्जाल सदस्य गीता कुवँर, घाचोकमा रहेका १४ वटा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतले आफ्नो धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width