नेपालमै पहिलो पटक नापीको मोवाईल एप

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७६
napi 11111

पोखरा । हालैका वर्षहरुमा स्थानीय तहको भ्रष्टाचार बढेको तथ्यांक अख्तियारसँग छ । साविकमा धेरै कार्यालयको काम अहिले स्थानीय तहबाट हुने भएकोले भ्रष्टाचारका उजुरीको अनुपात पनि उसैगरी थपिएको छ । स्थानीय तहसँगै मालपोत र नापीमा हुने घुस लेनदेनका घटनाको फाईल पनि अख्तियारसँग उत्तिकै चाङ छ । मालपोत र नापीका प्राविधिक बिषय सेवाग्राहीलाई खासै जानकारी नहुने र त्यसकै छेकोमा विचौलीयाको हावी बढी छ ।

कास्कीको लेखनाथमा केही दिनअघि मात्रै मालपोत कार्यालयका नासु ३ हजार घुससहित पक्राउ परे । ६ महिनाअघि शाखा अधिकृत नै पक्राउ परे । अघिल्लो वर्ष एकैपटक ६ जना विचौलीया अख्तियारको फन्दामा परे । निरन्तर भैरहने यस्ता घटना नियन्त्रण गर्न नापी कार्यालय कास्कीले नेपालमै पहिलो पटक प्र्रविधिको प्रयोग मार्फत सेवा प्र्रारम्भ गरेको छ । बिचौलीया मार्फत गर्दै आएका अधिकांश काम अब मोवाईल एप्लिकेसनबाट घरमै बसेर गर्न मिल्ने गरी डिजाईन गरिएको हो । सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप तयार गरिएको कार्यालय प्रमुख खिमलाल गौतमले बताए । ‘जग्गा प्रशासनमा भ्रष्टाचार बढेको र अपारदर्शीताका कुरा दिनहुँ उठ््छन् । लेखापढीले सेवाग्राहीसँग लिएको पैसालाई सेवाग्र्राहीले कर्मचारीले घुस खाए भनेर पनि आरोप लगाउँछन्,’ उनले भने, ‘कर्मचारी र सेवाग्राहीसँग सीधा सम्पर्क विस्तार गराउन प्रविधिको प्रयोग गर्नुपर्छ भनेर मोवाईल एप बनाएको हो ।

विचौलीया बिना सेवाग्राहीले आफ्नो काम आफै गर्ने र सबै आरोपलाई चिर्न यसले सहयोग गर्नेछ ।’ उनका अनुसार एप्लिकेसनबाटै सेवाग्राहीले आवश्यक निवेदनको ढाँचा प्राप्त गर्नेछन् भने मन लागेका बेला टोकन मार्फत सेवा लिन सक्नेछन् । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले एप्लिकेसन सार्वजनिक गरेकी हुन् । उनले सेवा प्रवाहलाई जोडेर धेरैले औंला उठाएको भन्दै होसियारीका साथ काम गर्न र अनुचित लाभमा नफस्न कर्मचारीलाई निर्देशन दिईन् । ‘कसैले जवरजस्त दाग लगाउँदैमा दोषी भईंदैन । कलम र क्यापमा क्यामेरा फिट गरेर अख्तियार छिरेको छ । होसियार रहनु । अनुचित काममा नफस्नु,’ उनी भन्छिन्, ‘हुने काममा ढिलासुस्ती नगर्नु । कानुनले नदिने काममा कतैबाट राजनीतिक दवाव नआउने वातावरण म मिलाउँछु । नाप नक्सामा ठूलै क्रान्ति गर्नुपर्ने छ । देख्ने गरी सुधार गरेर जानु छ । मलाई साथ दिनुस् ।’

मन्त्री अर्यालले हालसाविक गर्दा धेरै गुनासो आएको सुनाइन । ‘हिजो प्रविधि थिएन । फित्ता लिएर अनुमानको भरमा गरेको कामले समस्या परेको हो । अव नीतिगत रुपमै एकीकृत भूमि कानुन बनाउन लागेका छौं,’ उनले भनिन्, ‘हालसाविक गर्दा सबैभन्दा धेरै गुनासो छ । काम गरुँ रातो घरमा पर्ने चिन्ता, नगरुँ सेवाग्राहीले दुख पाउने । अव जबरजस्त परिवर्तन दिनुपर्ने छ ।’ गुनासो रहीत हुने गरी सेवाको शैलि विकास गरिने अर्यालको भनाई छ । ‘गर्ने ठाउँमा हामी छौं । अरुसँग गुनासो गरेर अव उम्किन सकिँदैन । बरु काम गर्ने शैली फेर्नुपर्छ । मालपोत र नापी अव अलगअलग राख्ने होईन । सके एउटै बनाऔं नभएपनि निकट बनाउन लागेका छौं । त्यसपछि एउटा ढोकाबाट छिरेको ब्यक्ति एउटै कोठामा काम सकेर अर्को ढोकाबाट निस्किन्छ,’ उनले भनिन् ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवासँग सुशासन कायम गर्ने अभियानमा आफुहरु लागेको बताए । उनले यही एप्लिकेसन देशैभरका नापी कार्यालयमा विस्तार गरिने बताए । एपबाट दैनिक कामको टोकन लिन, फारम भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिन सकिने छ । काठमाण्डौं स्थित मालपोत कार्यालय कलंकीबाट अनलाईन मार्फत सेवाको जानकारी दिईएको थियो । विभागले ३३ वटा नापी कार्यालयका प्रतिनिधिहरुलाई नाप नक्सा सम्बन्धी सीप विकास तालिम दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width