मुख्यमन्त्रीको गृहजिल्लामै महोत्सव

Avatar आदर्श समाज सम्वाददाता
फागुन २४, २०७६

लमजुङ । कोरोना भाइरस संक्रमण त्रास भन्दै धमाधम कार्यक्रम रद्ध घोषणा भइरहँदा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङमा भने ठूलो खालको महोत्सव आयोजना गरिएको छ ।
सदरमुकाम बेसीशहरमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति संस्कृति तथा पर्यटन महोत्सव–२०७६ शुरु भएको हो ।

सोही महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश संस्कृतिमा समेत सबैभन्दा समृद्ध प्रदेश भएको दाबी गरेका छन् । उनले कोरोना भाइरस संक्रमणमा अहिलेसम्म कुनै पनि नेपालीमा नदेखिएको भन्दै उच्च सतर्कता भने अपनाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बेसीशहरमा आयोजना गरिएको महोत्सव र पोखरा रंगशालामा संचालित १८ औं आहारारा गोल्डकपलाई मात्र सञ्चालन हुन दिने तर अन्य ठूला मेलामहोत्सव नगर्ने निर्णय गरेको जानकारी दिए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका लागि देखिएको समृद्धिको सपना पर्यटनसँग जोडेर हासिल गर्न चाहेको बताए । उनले भने, ‘यस्ता महोत्सवमा आउँदो वर्षदेखि प्रत्येक होमस्टेको छुट्टाछुट्टै स्टल राखिनुपर्छ र त्यसमा त्यहाँको स्थानीय परिकार के हो, त्यो खुबाउने प्रबन्ध हुनुपर्छ ।’ होमस्टे गाउँहरूमा स्थानीय रैथानेबालीको संरक्षण गर्ने कार्यमा मुख्यमन्त्री कृषि गाउँ कार्यक्रममार्फत आउँदो आवबाट सहयोग गर्ने योजना ल्याउने भएको जानकारी उनले दिए ।

पर्यटक प्रकृति, यहाँको हिमाल, हरियाली र पहाडमात्र हेर्न आउने नभई विभिन्न जातजातिमा रहेको मौलिक लोकसंस्कृति हेर्न पनि आउने गरेको बताउँदै ती सबै जातजातिको कला संस्कृति संरक्षणका लागि यस्ता महोत्सवले महत्व राख्ने उनले बताए । उनले भने, ‘प्रदेश सरकार भाषा संस्कृतिको संरक्षणका लागि लाग्ने र यो प्रदेशलाई कलियुगको रामराज्यमा परिणत गर्ने सोच र योजनामा जुटिरहेको छ ।’ कार्यक्रममा गण्डकी प्रदेशसभा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, गण्डकी प्रदेश सभाका सदस्य एवम् नेकपा लमजुङ संयोजक मधुमाया अधिकारी, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, आदिवासी जनजाति महासंघका गण्डकी प्रदेशका संयोजक खेम पुनमगर, आदिवासी जनजाति महासंघका तनहुँ अध्यक्ष बसुन्धरा घर्ती सहितले शुभकामना व्यक्त गरेका थिए ।
आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको समारोहमा विभिन्न जातजातिको आ–आफ्नो जातीय सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । ‘मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान–एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका साथ आयोजित महोत्सव चैत २ सम्म सञ्चालन हुनेछ ।