कृषि एवं पर्यटन महोत्सव तयारी

Avatar आदर्श समाज सम्वाददाता
फागुन २०, २०७६

पोखरा ।साझा सहारा (सास), नेपालको आयोजनामा पोखरा पुरानो टुँडिखेलमा ‘प्रथम कास्की कृषि एवं पर्यटन महोत्सव २०२०’ हुने भएको छ ।आयोजकले पोखरामा सोमबार पत्रकार सम्मेलन गरी महोत्सव फागुन २३ देखि २८ सम्म हुने जानकारी दियो ।

मौलिक कला, संस्कृतिहरुको संरक्षण, सम्वद्र्धन गर्दै स्थानीय उत्पादन, सीप तथा क्षमताको उचित व्यावसायीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ । साथै सामाजिक उत्थान र विकासमा समेत टेवा पु¥याउन महोत्सवको उद्देश्य रहेको साझा सहारा नेपालका अध्यक्ष भीमसेन नेपालीले बताए ।महोत्सवमा कुल ७० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन र हस्तकलाका सामग्रीको स्टल रहने अध्यक्ष नेपालीले बताए । उनका अनुसार महोत्सवमा खानाका स्टल समेत रहनेछन् । यस्तै, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

महोत्सवको अवसरमा उद्घोषण आइडल हुने भएको छ । उद्घोषण कलाको विकासका लागि आयोजित प्रतियोगितामा विजेतालाई ५० हजार प्रदान गरिने मेला सहसंयोजक बाबुराम नेपालीले जानकारी दिए ।
त्यस्तै पञ्चेबाजाको विकासका लागि पञ्जेबाजा प्रतियोगितासमेत हुनेछ । विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार, तेश्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार प्रदान गरिने उनले जानकारी दिए ।महोत्सव उद्घाटन अवसरमा झाँकी प्रदर्शनी गरिने र प्रथमलाई २० हजारसहित पुरस्कृत गरिने आयोजकले जनायो ।

महोत्सवको अवसरमा ३ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने साझा सहारा नेपालले जनाएको छ । ‘बेसहाराका लागि सहारा’ नारासहित स्थापित साझा सहारा नेपालले कास्कीका ३ सय विद्यार्थीलाई १ वर्ष भरी पुग्ने कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गर्ने अध्यक्ष भीमसेन नेपालीले बताए । महोत्सव सम्पन्न गर्न करीब ३० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । बचत रकम सामाजिक कार्यमा लगाइने जनाइयो । संस्थाले स्याङ्जामा अनाथ आश्रम निर्माण गरिरहेको छ ।