कालिगण्डकी कोरिडोरमा ४६ करोड खर्च

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
Kali Gandaki

रुपनारायण ढकाल-पोखरा, १२ फागुन । निर्माणाधिन कालिगण्डकी कोरिडोरका लागि चालू आर्थिक बर्षको ६ महिनामा ४५ करोड ९३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो रकम बार्षिक लक्ष्यको १६ दशमलव १ प्रतिशत रहेको चालू बजेटको अर्धवार्षिक समिक्षामा उल्लेख गरिएको छ । चालू आर्थिक बर्षका लागि सो कोरिडोरका लागि भने दुई अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्म यस कोरिडोरको कूल लम्बाई चार सय ३५ किलोमिटर रहेको छ । आयोजनाको कूल अनुमानित लागत २८ अर्व ८० करोड रुपैयाँ रहेकोमा गत आर्थिक बर्ष सम्म पाँच अर्व ३३ करोड रुपैयाँ खर्च भएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् । हालसम्म बेनी जोमसोम कोरला खण्डको एक सय ८६ किलोमिटरमा सम्पूर्ण ट्रयाक खोलिसकिएको जनाइएको छ । मालढुंगा–राम्दी–गैंडाकोट खण्डको कूल २४५ किलोमिटर मध्येबाट निर्माण कार्य भइरहेको र रिडी मालढुंगा सडक खण्डको कूल ८० किलोमिटर मध्ये ३८ किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

यसैगरी बेनी–जोमसोम–कोरला खण्डमा ५४ किलोमिटर ग्राभेल विच्छाउने कार्य तथा मालढुंगा–राम्दी–गैंडाकोट सडक खण्डमा एक किलोमिटर सडक चौडा, ११ किलोमिटर ग्राभेल र पाँच वटा पुल निर्माण कार्य पनि सम्पन्न भइसकेको जनाइएको छ । नेपाली सेनाद्वारा निर्माण भइरहेको खण्डमा साडे ६ किलोमिटर ट्रयाक चौडा गर्ने काम पनि सम्पन्न भएको बताइएको छ । कोरिडोरको उत्तर दक्षिण जोड्ने बेनी–जोमसोम–कोरला १ सय १० किमी सडकको ७ वटा प्याकेजमध्ये ३ प्याकेज निर्माण भई हस्तान्तरण समेत गरिएको छ । यी तीन प्याकेज सम्पन्न हुँदा ८५ प्रतिशत प्रगति भएको दाबी गरिएको छ । करिडोरको उत्तरी कोरला नाकासँग सीमा जोडिएको छोसेर–कोरला २५ किमी, ताङ्बे–चैले ११ किमी र जोमसोम–ताङ्बे १८ किमी ग्राभेल सडक सहित ३ वटा प्याकेज निर्माण भइसकेका छन् । रहेका ४ वटा प्याकेज पनि निर्माणको अन्तिम चरणमा भएको बताइएको छ ।

केही हप्ता अघि सम्म कञ्चनजंघा लामा मोतीदानको झैते–चराङ १९ किमी सडक खण्डको ६८ प्रतिशत, सप्तकोशी जलाधार कन्ट्रक्सनले पछि आएर जिम्मा पाएकोे चराङ–छोसेर २५ किमी सडक ५५ प्रतिशत र कञ्चनजंघा लामा बिरुवा जेभीको भेना–झैते १२ किमी सडकको ९५ प्रतिशत काम पूरा भएको जनाइएको छ । बेनी–जोमसोम खण्डमा रहेका ४ वटा प्याकेज मध्ये औसत प्रगति ५५ प्रतिशत भएको जनाइएको छ ।
गण्डकी प्रदेश र प्रदेश–५ का जनताले समृद्धीको एक मुख्य आधारको रुपमा यो कोरिडोर सडकलाई लिने गरिएको छ । उत्तरी छिमेकी राष्ट्र चीन र दक्षिणी छिमेकी राष्ट्र भारतलाई जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग मात्र होइन पर्यटकीय मार्ग पनि कालिगण्डकी कोरिडोरलाई लिन सकिन्छ । चीनबाट बौद्ध धर्मावलम्बी लुम्बिनीमा र भारतका हिन्दू मुक्तिनाथसम्म तान्ने धार्मिक पर्यटकीय सडकको रुपमा समेत यसलाई लिने गरिएको छ । यस सडक खण्डमा पर्ने मुक्तिनाथ, गलेश्वर, सेतिबेनी, रुद्रबेनी, रिडी, रानीमहल, रामदी, उत्तरबाहिनी महालिंगेश्वर धाम, देवघाट यही मार्गका धार्मिक केन्द्र हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width