त्रिवेणी छोटी गण्डकीकै मुख्य भन्सार बनाइने

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
huri-nawalpur

नवलपुर ।नेपाल सरकारले मंगलबार त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य भन्सार कार्यालयको रूपमा स्तरउन्नति गर्ने निर्णय गरेको छ । गत वर्षसम्म २५ हजार सम्मको मालसामान ढुवानी तथा कारोबार गर्ने अनुमति पाएको उक्त छोटी भन्सारको मंगलबार प्रधानमन्त्रीसँग परामर्श गरिए अनुरूप स्तरवृद्धि गरिएको संघीय सांसद तिलक महतले जानकारी गराए ।

अबको १५ दिनभित्र आधिकारिक समारोहको आयोजना सहित बस्तु जाँचपास सेवा शुभारम्भ गरिने सांसद महतले बताए । कार्यालयको अनुगमन र पूर्व तयारीको लागि मंगलबार नै काठमाडौंबाट प्राविधिक टोली त्यसतर्फ खटाइएको उनले उल्लेख गरे । गण्डकीको लाइफलाइन मानिने कोरला–त्रिवेणी सडकको मुख्य भन्सार कार्यालय त्रिवेणी हुने भएपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का उद्योगी व्यवसायीमा नयाँ तरङ्ग छाएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले उल्लेख गरे ।

यसअघि संघीय सांसद तिलक महतकै पहलमा करदाता सेवा कार्यालय र यातायात सेवा कार्यालयको स्तरउन्नति गरी मुख्य कार्यालयमा रूपान्तरण गरिएको थियोे । गण्डकी प्रदेशको मुख्य सिमा भन्सार कार्यालयको रूपमा त्रिवेणीलाई विकसित गरिएपछि नवलपुरको सिधा कारोबार भारत बिहारको राजधानी सहर पटनासँग हुने भएको छ । निर्माणाधीन त्रिवेणी दुम्किबास सडक सम्पन्न हुनासाथ त्रिवेणीबासीको नमुना सदरमुकाम कावासोतीसँग सिधा सम्बन्ध कायम हुनेछ । हाल कावासोतीबाट त्रिवेणी जान प्रदेश ५ को बाटो भएर जानुपर्ने बाध्यकारी अवस्थामा छ । त्रिवेणी कोरला सडकलाई गण्डकी सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको छ । त्रिवेणी मुख्य भन्सार हुने बित्तिकै यसको कनेक्टिभिटी छिमेकी मुलुक भारतको पटना र चीनको कोरलासँग हुने भएकाले त्रिवेणीवासी निकै उत्साहित भएका छन् । केही समयअघि प्रधानमन्त्री केपी ओलीसमक्ष संघीय सांसद तिलक महतले १५ अर्बको नवलपुर नमुना सदरमुकामको डिपीआर बुझाई केन्द्र सरकारलाई यथाशीघ्र काम अघि बढाउन अनुरोध गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width