ट्रष्टको सम्पत्ति प्रदेशले माग्यो

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
IMG_0760

पोखरा । नेपाल ट्रष्टको नामका पोखरामा रहेका जग्गा र भौतिक संरचना प्रदेश सरकारको मातहतमा लिन अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।

मुख्य न्यायाधीवक्ता डा राजेन्द्र घिमिरे, मुख्यमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, गोरखाको गण्डकी गाउँपालिकाका डा धु्रव रेग्मी, पर्यटनविद् जुद्धबहादुर गुरुङ र मन्त्रालयका सचिव यामप्रसाद पोखरेसमितिको सदस्य छन् । उनीहरुले पोखराभित्र कायम ट्रष्टको नाममा रहेका सबै जग्गा र सम्पत्ति खोजी गरि प्रदेशको नाममा ल्याउन सकिने प्रतिवेदन तयार गर्नेछन् । सोही प्रतिवेदन आधारमा संघ सरकारसँग अधिकार सहित संरचना माग गर्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । लेकसाइडमा रहेको हिमागृह र रत्नमन्दिरको व्यवस्थापन सहित सञ्चालन गर्ने विषयमा समेत समितिले आफ्नो राय पेश गर्ने छ । यो ठाउँ पोखरा महानगरपालिकाले पनि आफ्नो नाममा दिनुपर्ने दाबी गरेको छ ।

यस्तै, गण्डकी विश्वविद्यालयमा ६ जना कर्मचारी नियुक्त गरिएको छ । हाल मन्त्रालय मातहतकै विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई विश्वविद्यालयको कामकाजमा खटाइएको बस्नेतले बताए । उनका अनुसार उपसचिव घनश्याम पौडेल, शिक्षा अधिकृत नवराज वाग्ले, अधिकृतहरु भगवान् ढकाल, लक्ष्मी थापा, कार्यालय सहयोगी संचिता सिलवाल र हल्का सवारी चालकलाई खटाइएको हो । विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति पनि गठन गरिएको छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा नवनियुक्त कुलपति डा गणेशमान गुरुङ, शिक्षा सचिव डिल्लिराम शर्मा सदस्य छन् भने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मालाई आमन्त्रित सदस्यका रुपमा पठाइएको छ । यसैबीच, प्रदेश सरकारले कृषिमा आधुनिकीकरण भित्र्याउने उद्देश्यले व्यवसाय इन्कुवेसन सेण्टर स्थापना र सञ्चालनको लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्ले पास गरिदिएको हो । यसले कृषि तथा पशुपक्षी क्षेत्रमा आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरणको लागि युवा कृषकको ज्ञान, सीप र दक्षता बढाउन सघाउने छ । सिक्ने र गर्ने नारा सहित सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत यो सेण्टर सञ्चालन हुने सरकारले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width