जेठमा गठित छायाँ सरकारको पहिलो बैठक आज

एजेन्सी
फागुन ११, २०७६
thumb

पोखरा, ११ फागुन । नेकपाको सरकारमाथि निगरानी राख्न नेपाली कांग्रेसको छायाँ मन्त्रिपरिषदको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । सरकारमाथि निगरानी गर्न भन्दै जेठमा छायाँ सरकार बनाएको कांग्रेसले अहिलेसम्म बैठक नै राखेको थिएन । तर आइतबार संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रियसभा संसदीय दलका नेतासहित मन्त्रालयगत समितिका संयोजकहरुको बैठक बोलाएको थिए ।

बैठकमा उपस्थित छायाँ मन्त्रीहरुले अहिलेसम्म गरेका कामकारबाहीबारे रिपोर्टिङ गरेका छन् । त्यसक्रममा कतिपयले समितिका सदस्यहरु सक्रिय नभएको गुनासो गरेका छन् भने कतिले अझै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले मन्त्रालयहरुको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् । ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो भ्रष्टाचार कति भइरहेको छ भन्ने प्रमाण हो’ देउवाले भनेका छन् ‘यस्तो भ्रष्टाचार अरु मन्त्रालयमा पनि भइरहेको छ । त्यसको खोजी गर्नुस् ।’

त्यसका लागि नै छायाँ मन्त्रीहरु बनाएको भन्दै उनले सक्रिय हुन निर्देशन दिएका छन् । प्रमुख सचेतक बालकृष्ण खाँडले छायाँ सरकार कहाँ छ भनेर खोजी हुन थालेको भन्दै अब सबै सक्रिय हुनुपर्ने बताए । यदि समितिमा भएका केही सक्रिय भएका छैनन् भने उनीहरुलाई हटाएर सक्रियहरुलाई राख्नुपर्नेमा उनको जोड थियो ।बैठकपछि राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘सञ्चारमा जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएका छन् । यसबारे सम्बन्धित छायाँ मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width