लक्ष्मणको लोभलाग्दो कृषिले लाख

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
laxman 1

विजय नेपाल-पोखरा ।‘जब लोग्ने कतार, तब स्वास्नी बजार ।’गाउँघरमा अचेल यो कहावत चर्चित बन्दै गएको छ । जब लोग्ने कमाउन विदेश जान्छन्, तब स्वास्नी छोराछोरी पढाउन भन्दै बजार झर्न हतारिन्छन् । तर, पाल्पाका ४५ वर्षे लक्ष्मण पराजुलीको लागि भने यो भनाइ ठिक उल्टो भइदियो । उनी कमाउन भनी सिंगापुरसम्म पुगे । पहिले भारत र पछि सिंगापुर गरी झण्डै एक दशक विदेशी भूमिमा बिताए । पाल्पा सदरमुकाम तानसेन बजारमा बसोबास गर्ने पराजुली परिवार लगानी क्षेत्र खोज्दै रित्तो गाउँघर फर्किएको छ ।

विदेशीको कहर लक्ष्मणले भुलेका छैनन् । स्वदेशमा रोजगारी नपाएपछि भारत र सिंगापुरमा उनको जीवन दुःखकष्टमै बित्यो । स्वदेश छोडेदेखि पाएको दुःख सम्झिदा उनमा गाउँमै फर्किएर केही गरौं भन्ने हुटहुटी मरेको थिएन क्यारे । चटक्कै छोडेर नेपाल फर्किए । तानसेनमा वाइन सप (रक्सी पसल) खोलेका उनले निर्माण व्यवसायमा समेत हात हाले । जीवन भोगाइक्रममा विविध क्षेत्रका अनुभवी लक्ष्मणले गाउँमै कृषिकर्म शुरु गरी मासिक २ लाख रुपैयाँ कमाउन थालेका छन् । र, गाउँमै उदाहरणीय बन्दै गएका छन् ।

पाल्पाको पश्चिम रैनादेवी गाउँपालिका (साविक मुझुङ, अँधेरीखोला) स्थायी घर भएका लक्ष्मणले झण्डै ३५ लाख लगानी गरेर छिमेकी रिब्दीकोट गाउँपालिका–७, मैनादीमा खोलेको ‘ए एन ए कृषि हाउस’ लोभलाग्दो छ । उनको फर्ममा पहिलो पटक पाइला टेक्नेले स्वदेशकै माटोमा पसिना बगाउन सके वार्षिक लाखौं रुपैयाँ कमाउन सकिँदोरहेछ भन्दै दह्रिलो आत्मविश्वास सँगाल्दै फर्किने गरेका छन् ।‘कृषि क्षेत्रमा परिश्रम गर्नुपर्छ । मुनाफा पाउन हतारिनु हुँदैन । केही समय लाग्छ नै,’ हेर्दा फिल्मै हिरो लाग्ने लक्ष्मणले भने, ‘स्वदेशमै ढुंगा–माटो खोस्रिन सके कमाउन विदेश जानु पर्दैन ।’

उनले आजभन्दा ९ महिनाअघि स्थानीय तिलक गैह्रेको नाउँमा रहेको घरजग्गा किनेका हुन् । गैह्रेले पनि १० वर्षअघि रामकुमार नेपालको नाउँको सो घर खरिद गरेका थिए । नेपाल परिवार गाउँघरमा उज्यालो भविष्य नदेखेपछि गाउँघरको सबै सम्पत्ति बेचेर मधेश झरेको हो । सोही सिको गर्दै गैह्रे परिवार पनि पराजुलीलाई जिम्मा लगाउँदै पहाडी भूमि बेचेर समथर तराई झर्यो । खासमा लक्ष्मणले कृषि फर्म खोल्न घरसहित ३५ रोपनी जग्गामात्र १५ लाख रुपैयाँमा किनेका हुन् । पछि विभिन्न प्रकारका ८ वटा खोरसहित अन्य लगानी थप्दै जाँदा ३५ लाख पुगेको बताउँछन् । स्वच्छ हावापानी, खानेपानी तथा सिंचाइको राम्रो प्रबन्ध, घरै मास्तिरबाट मोटरबाटो सुविधा रहेको सो स्थानमा उनले मासुजन्य तथा कृषिजन्य सबैथोक पाल्नुका साथै उब्जाउ प्रयास गरेका छन् । उनले विभिन्न खोरमा लोकल कुखुरा तथा लेयर्स, हाँस, टर्की, बाख्रापालन गरेका छन् । यतिमात्र कहाँ हो र, बाँझो रहेको जमिन खनजोत गरी लटरम्म टमाटर सहित अन्य मौसम अनुसारका तरकारी फलाएका छन् । फर्ममा आंशिक र फूल टाइम गरी १० जनालाई रोजगारी समेत दिएका छन् । कामप्रति उत्साहित हुँदै उनी भन्छन्, ‘यही सिजनमा डेढ लाखको अण्डा नै बेचें ।’

उनका अनुसार कुखुरा फर्ममा लोकल, लेयर्स गरी १ हजार ४ सय थान कुखुरा पालेकोमा १ हजार १ सय कुखुरा बिक्री भयो । उनले हाल पालेका ७ सय वटा लेयर्सबाट एकदिनमै ५÷६ सय अण्डा संकलन हुन्छ । परीक्षणको रुपमा पहिलो पटक गाउँमा टर्की पालेका उनले एउटै टर्की ६ महिनामा ११ केजीसम्म बनाएर बेचे । छुट्टै रहेको बाख्रा खोरमा ३५ वटा बाख्रा हुर्किरहेका छन् । बाख्रालाई खेतबारीको घाँस छ भने चरिचरणका लागि नजिकै जंगल समेत सुविधा छ । २ सय वटा हाँस पालेकोमा बेच्दै जाँदा बिक्री हुँदा खोरसमेत रित्तिन थालेपछि थप पाल्ने योजना उनको छ । दुई छोराछोरीका पिता लक्ष्मणलाई श्रीमतीले पनि काममा सघाउँछिन् । पराजुली परिवार तानसेन–मैनादी गरिरहन्छन् ।

उनले उत्पादन गरेको कृषिउपज बिक्रीको मुख्य बजार क्षेत्र तानसेन र बुटवल हो । कतिपय त तानसेनमै खपत हुने र माग अनुरुप बुटवलसम्म पु¥याउने गरेको पराजुलीले बताए । घर वरिपरि खोर बनाएका उनको अब बंगुर र बँनेल पाल्ने सोच छ । उनी भन्छन्, ‘थप खोर बनाउँदैछु । त्यसमा बंगुर र बँनेल पनि पाल्छु । तरकारी खेतीको लागि मल पनि प्रशस्त हुन्छ । घाँस प्रशस्त छ । गाउँघरमा काम गर्न सहज लाग्यो ।’मासिक करिब २ लाख कमाउने गरेका लक्ष्मणले गाउँमा केही छैन भनी विदेश जान हतारिने युवालाई स्वदेशमै इलम गरे प्रशस्त कमाउन सकिन्छ भनी सिकाउनु छ । भन्छन्, ‘सरकारले अनुदान दिएमा अझै बृहत् बनाउँदै जानेछु । विदेशको दुःखकष्ट बिर्सेको छैन । नेपालमा धेरै गर्ने ईच्छा छ । अरुलाई पनि यस्तै कार्य गर्न मेरो सुझाव छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width