ठाडोभाका सर्जक दुराको जन्मघरमा संग्रहालय

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
lamjung

????????????????????????????????????

लमजुङ । मौलिक पहिचान रहेको ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको जन्मघरलाई स्मृति संग्रहालय बनाइएको छ । मध्यनेपाल–१०, हाँडीखोलास्थित ठूलोवर्धन गाउँमा नगरपालिकाको सहयोगमा सर्जक दुराकै स्मृतिमा संग्रहालय निर्माण गरिएको हो ।

सो गाउँमा देउबहादुर दुरा जन्मे, हुर्के र आफ्नो जीवन समर्पण गरेको घरलाई नै नगरपालिकाको विशेष सहयोगमा संग्रहालयको रूपमा विकास गरिनिर्माण गरिएको संग्रहालयको शिलापत्र सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले अनावरण गर्दै उद्घाटन गरे । मेयर पाण्डेले देउबहादुर दुरा समाजमा थोरै मान्छेले मात्रै गर्न सक्ने फरक खालको काम गरेर नेपाली मौलिक गीतलाई दुनियाँमा चिनाउने काम गरेको हुँदा उनी पुजनीय रहेको बताए ।

उनले भने, ‘स्वर्गीय दुराले ठाडोभाका जस्तो नितान्त मौलिक गीतको सिर्जना गरेर त्यसका माध्यमले कुनै जाति, ठाउँ र गाउँ विशेषलाई नभई सिंगो लमजुङलाई चिनाउने काम गरेका छन् ।’ पाण्डेले देउबहादुर दुरा संग्रहालय विधिवत् रुपमा दर्ता भई व्यवस्थापन, स्मृति उद्यान निर्माण, शालिक निर्माणजस्ता योजना बनाएर अघि बढ्न स्थानीयलाई आग्रह गरे ।ठाडोभाका लोककला प्रतिष्ठान नेपाल संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ ले प्रतिष्ठानले यो वर्षदेखि ठाडोभाकाको प्रतियोगिता समेत थालनी गरेको छ । मध्यनेपालका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काले संग्रहालय निर्माण गरेर स्रष्टाहरूको योगदानको कदर गर्ने राम्रो संस्कारको थालनी भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यस कार्यले नेपालको मौलिक संस्कृतिको संरक्षणमा मद्दत गर्ने र यस्तो कार्यमा लाग्ने अभियानकर्मीको कदर हुने बताए । वडा १० का अध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमुना गाउँका रुपमा चिनाउने, लोक संस्कृतिको अनुपम गन्तव्यरुपमा विकास गरिने बताए । उनले भने ‘दुराको शालिकसमेत निर्माण गर्ने नगरपालिकाको योजना छ ।’

उक्त, संग्रहालय निर्माणका लागि स्थानीय चन्द्रमान दुरा, भीमबहादुर दुरा, हस्तबहादुर दुरा र दलबहादुर दुराले जग्गादान गरेका हुन् । उनीहरूले दान गरेको ५ रोपनी जग्गामा संग्रहालयहाता बनाइएको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए । उनले भने, ‘त्यस जग्गामा देउबहादुरको शालिक समेत निर्माण गरिने भएको छ, उक्त जग्गाको स्थानीय मूल्य १० लाख रुपैयाँभन्दा बढी पर्दछ ।’परम्परागत घुमाउनेस्वरुपमा रहेको खरको छानोले छाइएको उक्त घर संग्रहालयमा परिणत गरी देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रहित गरिने भएको छ । हालसम्म देउबहादुरको योगदानको खोजी गर्न नसकिएकोमा संग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी संकलन गरिने बताइएको छ ।

१९४७ फागुन ८ मा जन्मेका देउबहादुरले जीवनकालमा करापुटारमा लाग्ने शिवरात्री मेला लगायतका चाडपर्वमा ठाडोभाका गीत गाएरै यसलाई समाजमा चिनाएको स्मृति संग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले बताए । सो क्षेत्रमा करिब १ सय ६५ घरधुरी रहेकोमा अधिकांश दुरा जातिको बसोबास रहेको छ संग्रहालयले अल्पसंख्यक दुरा जातिको गौरव बढाएको उपाध्यक्ष श्रीप्रसाद दुराले बताए । उनले भने, ‘नगरपालिकाबाट कुल १८ लाख रुपैयाँ सहयोग र करिब १० लाख रुपैयाँ बराबरको जनश्रमदानबाट संग्रहालय निर्माण गरिएको हो ।’ हाँडीखोला क्षेत्रका नास्के, वर्धन, सिम्ले, डाँडागाउँ, गैरीगाउँ, ठलेवर्धन, कोँक्रा गाउँबाट स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमका आमा समूह, यामबहादुर दुरा, कविमाया दुरा र वुद्धिमान दुरा धम्पु लगायतका समूहले ठाडोभाका गीत गाउँदै मनोरञ्जन गराएको स्थानीय अगुवा डिलबहादुर दुराले बताए । सो अवसरमा स्थानीय युवा क्लबमा आवद्ध युवायुवती र विद्यार्थीको नृत्यसँगै घाँटु, कृष्णचरित्र नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दुरा सेवा समाज केन्द्रीय सदस्य सु. चन्द्रबहादुर दुरा, दुरा सेवा समाजका जिल्ला अध्यक्ष डम्बरध्वज दुरा, कास्की अध्यक्ष लालजंग दुरा, देउबहादुरका नाति यामबहादुर, जग्गादाता चन्द्रमान दुरा, गणेश मालिका माविका अध्यक्ष शंकर विष्ट लगायतले स्व. दुराको स्मरण गर्दै उनको योगदान र जीवनीबारे प्रकाश पारेका थिए । कार्यक्रममा संस्कृति संरक्षण एवं कृषिमेला आयोजना गरिएको थियो । जसमा स्थानीले उत्पादन गरेका कृषि तथा फलफूल र तरकारीबाली समेत प्रदर्शनी गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width