पाहुना टोली कञ्चनजंघाको खप्तड गोल्ड कपमा विजयी शुरुवात

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
Sudur Paschim, Khaptad Gold Cup

धनगढी । पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बाग्मती फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कञ्चनजंघा क्लब अन्तिम ८ मा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा कञ्चनजंघाले बागमतीलाई ४–२ गोल अन्तरले हरायो । अब, भारतीय क्लबले सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ सँग खेल्नेछ ।

निधारित समय भन्दा केही ढिला सुरु भएको खेलमा बागमतीले कुनै अवसर सिर्जना गर्न सकेन । बागमतीको तुलनामा भारतीय क्लबले केही राम्रो अवसर सिर्जना गरेको थियो ।

खेलको १७ औं मिनेटमा कञ्चनजंघाले सुनौलो अवसर गुमायो । अरुण तामाङको प्रहार गोलपोस्टमा लागेर फर्किएपछि गोलरक्षक कुशल गिरीले बल नियन्त्रणमा लिन सफल भए । त्यसको ८ मिनेटपछि कञ्चनजंघाका छिरिङ तामाङले डीबक्स बाहिरबाट हानेको प्रहार बागमतीका डिफेन्डरले क्लियर गरिदिए ।

पहिलो हाफको ईन्जुरी समयमा ईल्लाले फ्रीकिकको अवसर पाएपनि उनको प्रहारले पोस्टको सही दिशा पक्डन सकेन । ४८ औं मिनेटमा अरुण तामाङले डीबक्स भित्रबाट हानेको प्रहार बागमतीका गोलरक्षकले पञ्च गर्दै विफल तुल्याए ।

कञ्चनजंघाका निगम खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । उनले १० हजार पुरस्कार हात पारे । प्रतियोगिताको दोस्रो दिन शनिबार ‘ए’ डिभिजन क्लब एनआरटी र एपीएफ भिड्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width