विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन

रासस
फागुन ८, २०७६
maxresdefault

म्याग्दी, ८ फागुन । ‘‘डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको आठ लाग्थ्यो, अहिले तीनमा एकै छिनमा कुटेर सकिन्छ”, ताकमका ठाकुरप्रसाद पौडेलले भने, “बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै परिवर्तन आयो ।”

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सञ्चालन भएको कुटानी पिसानी मिलबाट समय र नगदको बचत गरेको पौडेलले बताए । “बिजुलीले दुर्गम गाउँमा पनि सुगमको जस्तै सुविधा भएको छ”, स्थानीय ईश्वरी आचार्यले भने, “मोही पार्ने, भात पकाउन विद्युतीय उपकरण भएपछि दाउरा खोज्ने, ग्याँस किन्ने झन्झट र धुँवाको दुःख हरायो ।” बिजुली पुगेपछि ताकमका तोरण थापाले फर्निचर उद्योग खोलेका छन् । उद्योगमा उनीसँगै पाँच जनाले काम गर्छन् । यसअघि डिजेलबाट जेनेरेटर चलाएर फर्निचर उद्योग चलाउँदै आएका थापाले विद्युत् विस्तार भएपछि लागत र समय घटेको बताए ।

गाउँमा बिजुली बलेपछि फर्निचर, कुटानी पिसानीलगायत उद्योग खुल्ने क्रम बढेको उद्योग वाणिज्य सङ्घ धवलागिरि एकाइ समितिका सभापति किरण थापाले बताए । ताकममा गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको हो । यसअघि गाउँले उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, ल्यापटप, कम्प्युटर, इमेल इन्टरनेट चलाउन सजिलो भएको छ । बिजुलीको उज्यालोसँगै घरायसी कामकाज सहज, उद्योग व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको साझेदारीमा ताकमका ७७७ घरधुरीमा विद्युतीकरण भएको हो । धारापानीका २०१ घरधुरीमा गत वर्ष बिजुली बालिएको थियो ।

ताकम, हिलापोखरी, आटेबिर, आरखोला, काफलडाँडा, शिवाङ र मच्छिमका ५७६ घरधुरीमा यसपटक विद्युतीकरण गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताए । उनका अनुसार विद्युतीकरण गर्न गत वर्ष गाउँपालिकाले रु ७३ लाख विनियोजन गरेकामा रु ६९ लाख खर्च भएको थियो । मुख्य लाइन, ट्रान्सफर्मरलगायत उपकरण खरिद र विस्तारको काम विद्युत् प्राधिकरणले ठेक्कामार्फत गरेको थियो । धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष रु चार करोड ५० लाख विनियोजन गरेको थियो । यस वर्ष विनियोजन भएको रु दुई करोड ८१ लाख बजेटबाट मुना, मुदी, लुलाङ र मराङमा विद्युतीकरणको तयारी भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए ।

एक हजार ७०० घरधुरीको बसोबास रहेको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ, खिवाङ, लुलाङ, मुना र गुर्जामा लघुजलविद्युत् परियोजना सञ्चालन गरिएको छ । बगरमा गत कात्तिकमा सौर्य ऊर्जामार्फत विद्युतीकरण भएको थियो । केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत गाउँपालिकाको सबै घरलाई उज्यालो बनाउने योजना अघि सारिएको अध्यक्ष थमसरा पुनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width