गण्डकी लोकसंस्कृति र साहित्यमा धनी

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
gandaki

पोखरा । नेपाल प्रज्ञा प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले पोखरामा मंगलबार गण्डकी संस्कृति र साहित्य विषयक विचार गोष्ठी आयोजना ग¥यो । गोष्ठी उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले नेपालको परम्परागत धर्म संस्कृति विश्वमै महत्वपूर्ण रहेको बताउँदै लोकसाहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए । उनले साहित्य र संस्कृतिमा गण्डकी प्रदेश धनी रहेको बताए । उनले यसलाई व्यवस्थित गर्ने कार्यमा सरकारले सघाउने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले गण्डकीको भाषा नै नेपाली भाषाको मानक रहेको बताए । साथै उनले नेपालमा समन्वयात्मक संस्कृति रहेको उल्लेख गरे । प्रत्येक प्रदेशमा बृहत् वाङ्मयिक गोष्ठी गर्ने प्रतिष्ठानको योजना रहेको जनाउँदै उनले आगामी वर्ष गण्डकीमा सो गोष्ठी गरिने जानकारी समेत दिए ।प्रतिष्ठानका प्राज्ञ सदस्य माया ठकुरीले आख्यान श्रुतिको रुपमा एक अर्को हुँदै फैलिदै जाँदा गण्डकीका आख्यान भारतका आसाम, सिलोङसम्म पनि प्रयोग भएका उल्लेख गरिन्। उनले लोकका भावना आख्यानमा रुपान्तरित हुने बताउँदै एकअर्काको कला संस्कृतिको सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

उक्त अवसरमा प्राडा मोतीलाल पराजुलीले गण्डकी प्रदेशको संस्कृतिमा सोरठी लोकनाटकको भूमिकाविषयक आधारपत्र प्रस्तुत गरेका थिए । उनले आध्यात्मिक संस्कृतिको रुपमा रहेको सोरठी सार्क मुलुकमै प्रचलित रहेको उल्लेख गरे । त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका प्राडा जीवन अधिकारीले तयार गरेको आख्यानमा अभिव्यक्त लोकजीवन गोष्ठीपत्र साहित्यकार जगन्नाथ रेग्मीले प्रस्तुत गरेका थिए ।कार्यक्रममा वरिष्ठ लोकगायिका ज्ञानु राणाले सरस्वती बन्दना र अर्की गायिका बाबा राणाले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षको आसनबाट जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदन थापाले प्रतिष्ठानले आगामी दिनमा पनि विविध कार्यक्रम ल्याउने जानकारी दिए । कवि कुञ्जराज थापाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन साहित्यकार जगन्नाथ रेग्मीले गरेका थिए । १९८१ साउन १ मा पोखराको वाटुलेचौरमा जन्मिएका जनकविकेशरी धर्मराज थापाको २०७१ असोज २८ मा देहावसान भएको थियो । उनले नेपाली लोकसाहित्यको क्षेत्रमा पु¥याएको योगदान चिरस्थायी बनाउन धर्मराज र उनकी पत्नी सावित्रीको नाउमा प्रतिष्ठान स्थापना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width