एनआरएन युके अध्यक्ष जन्मगाउँ पुग्दा

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
nrn

पोखरा ।एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङलाई जन्मगाउँमा स्वागत तथा सम्मान गरिएको छ ।पोखरा १३ विजयपुर  पाँचथरमा मंगलवार उनी पुग्दा पञ्चैबाजा समूह, चण्डेश्वरी आमा समूह, म्रोम्जो कोने भाईखलक परिवार, विजयपुर आधारभूत विद्यालय, मिलीजुली विजयपुर तमु समाज लगायत विजयपुर गाँउबासीले विशेष सम्मान गरेको हो।

गाउँकी चेली गैरआवासीय नेपाली संघ युकेजस्तो अत्यन्तै प्रभावशाली संस्थाको अध्यक्षमा निर्वाचित पश्चात माइती पुगेकी उनलाई पञ्चेबाजा तथा फूलमाला र खादाले स्वागत गरिएको थियो।उनले जन्मगाउँको मायाले आफू धेरै व्यस्ततालाई पनि पन्छाएर विजयपुर आएको बताइन्। उनले आफ्नो बाल्यकालको संस्मरण गर्दै विगतका अनुभूति प्रस्तुत गर्दा आफू पनि भावुक भइन् । कार्यक्रममा सहभागी सबैको आँखा रसाएको देखिन्थ्यो।

बाजे स्वर्गीय समाजसेवी क्या.बिर्तासिंह गुरुङ(गोरे कप्तान), जिमु बमबहादुर, दुर्गाबहादुर गुरुङको लगायतको सामाजिक विकासमा योगदानको चर्चा गर्दै आफ्नो रगतमा पनि बाबुबाजेको गुण भएकाले समाजसेवा लागेको बताइन् । माइतीको आशीर्वाद, आफ्ना अभियन्ता तथा सहयोगीहरुको अमुल्य सहयोगले एनआरएन युकेको पहिलो महिला अध्यक्ष हुने शौभाग्य मिलेको बताइन् । जन्मगाँउबाट एनआरएन निर्वाचनका सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गर्दैै उनले आगामी दिनमा पनि सबैको साथ सहयोगको अपेक्षा गरिन् ।

सो अवसरमा उनले विजयपुर आधारभूत विद्यालयमा विद्यार्थीको आकर्षणका लागि शिक्षकलाई तालिम, शिक्षामा प्रविधि, शैक्षिक वातावरणको लागि अभिभावकको साथ सहयोगको आवाश्यकता रहने बताइन् ।
विद्यालयमा कम्प्युटर शिक्षा शुरुवात गरे आफूले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । शैक्षिक विकासका लागि आफ्ना स्वर्गीय बाजे क्या.बिर्तासिंह गुरुङको एक लाख रुपैया अक्षयकोष स्थापना गर्ने घोषणा गरिन् ।

कार्यक्रममा तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङ, कोने घोताने युकेका महासचिव इन्द्र घोताने, पोखरा १३ का वडा सदस्य कृष्णकुमारी गुरुङ, नेकपा पोखरा १३ वडा कमिटीका अध्यक्ष तिलक गुरुङ, मिलिजुली विजयपुर तमु समाज पोखराका अध्यक्ष ईन्स्पेक्टर मानकाजी गुरुङ, बौद्ध अर्घौ सदनका पुर्व अध्यक्ष क्या.मनबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए भने प्राधानाध्यापक शान्ति विश्वकर्माले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्देश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक बलराम बरालले गरेका थिए। २०१२ सालमा स्थापित २८ रोपनीमा रहेको विजयपुर आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा ४९ जना विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width