सिकाइकेन्द्रित रुपान्तरण आवश्यकः शिक्षामन्त्री

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
education

पोखरा ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताएका छन् ।शिक्षा पत्रकार समूहले आफ्नो २० औं वार्षिक साधारणसभाका अवसरमा सोमबार आयोजित कार्यक्रममा शिक्षामन्त्री पोखरेलले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

‘प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइकेन्द्रित रुपान्तरण अबको आवश्यकता हो,’ मन्त्री पोखरेलले भने, ‘शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकले पनि आफ्नोतर्फबाट रुपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक छ । उनले भने, ‘गुणस्तरका नाममा अंग्रेजी भाषा सिकाउँ तर नेपाली बिगार्न पाइँदैन ।’उनले शिक्षाका सबै मुद्दा पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूला–ठूला परिवर्तनलाई स्थान दिन आग्रह गरे । उनले मन्त्री पोखरेलले विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षासम्बन्धी अलगअलग संघीय शिक्षा ऐन ल्याउने तयारी गरिएको जानकारी दिए ।

मन्त्री पोखरेलले सञ्चारमाध्यममा राजनीतिक विषय हावी भएको स्थितिमा शिक्षाका समाचारलाई प्राथमिकता दिलाउन सञ्चारकमीको भूमिका रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा भएका शिक्षाका अशल अभ्यासलाई नेपाली समाजको मूल प्रवृत्ति बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्यि आकांक्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको जनाइन् ।

शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिए ।अर्का शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा नभई रुपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताए ।यसैबीच, कार्यक्रममा सार्वजनिक शिक्षाको रुपान्तरणमा सक्रिय शिक्षाकर्मी र शिक्षा पत्रकारलाई सम्मानित र पुरस्कृत गरिएको थियो । समूहले काठमाडौँको नीलबाराही माविका प्रअ डा जानुका पौडेल नेपाल, बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु र रुपन्देहीस्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई सम्मान गरेको हो । कार्यक्रममा पौडेल र थारुलाई उनीहरुले शिक्षा क्षेत्रमा दिएको योगदानका लागि सम्मान तथा पत्रकार अनमोललाई २५ हजार राशिको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रममा समूहले प्रकाशन गरेको ʻविद्यालयमा माध्यमभाषा′ नामक पुस्तकको विमोचन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width