जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

रासस
फागुन ५, २०७६
f-9-e1580414383840

साम म्याकनिल / क्यान्डिस चोई  । बेइजिङ, ५ फागुन । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ ।

त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो, र जनावरहरू फेरि बजारमा देखा परे । अहिले अर्को कोरोना जीवाणु चीनमा फैलिएको छ, र हालसम्म १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ६५ हजारभन्दा बढी मानिस बिरामी परेका छन् । सार्सभन्दा यो अझ बढी खतरनाक देखिएको छ । आखिर यस जीवाणुको मुल स्रोत के हो ? अझै पनि शंकास्पद छ, तर कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जङ्गली जनावरमाथि औंला तेर्सिएको छ । एक दर्जनभन्दा बढी चिनियाँ शहरहरूका ६ करोडभन्दा बढी मानिस बन्दीझैं अवस्थामा छन् । यही कारण वन्यजन्तुहरूको बिक्रीलाई स्थायी रूपमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ । धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो ।

टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लूएन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टरले भने “पशुपक्षीमा जीवाणुको संख्या अथाह छ, तर ती सबै मानिसमा सङ्क्रमित हुन पाएको छैन । यी जीवाणुले कुनै पनि बखत मानिसलाई हानि गर्न सक्छन् ।” सार्स र हाल फैलिएको कोविड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन । अफ्रिकामा “बुशमिट” का नाममा पशुपक्षीको शिकार र बिक्रीबाटै प्राणघातक इबोला फैलिएको मानिन्छ । बर्ड फ्लू सम्भवतः सन् १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो । दादुराको जीवाणु पनि गाईवस्तुबाट सङ्क्रमण भएर मानिसमा आएको विश्वास गरिन्छ ।

वैज्ञानिकहरूले नयाँ कोरोनाभाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् । प्रमाणहरुले चमेरोबाट कोरोनाभाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन् । यी चमेराले अरु पशुपक्षीलाई सङ्क्रमित गरेका र यसले चीनको दक्षिणपूर्वी शहर उहानको अबैध बजारमा मानिसहरूलाई सङ्क्रमित गरेको आशंका छ । अहिले बन्द अवस्थामा रहेको “हुनान सिफुड होलसेल मार्केट (हुनान समुद्री थोक बजार)” ले दर्जनौं किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो जसमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुर जस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए । यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरुलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो ।

उहान बजारबाट सङ्कलित ३३ वटा नमूना परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको अधिकारीहरूले बताएका छन् र तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए । घरमा लामो समय पालिने कुखुरा र सुँगुर जस्ता पाल्तु पशुसँग तुलना गर्दै विज्ञहरुले जङ्गली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन् । उहानको पशुपक्षी बजार एशिया र अन्यत्र जस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन् । अधिकारकर्मीहरुका अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा शिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ । प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मारिन्छन् । विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरु मानिसमा सङ्क्रमित हुने खतरा औंल्याउँछन् ।

“तपाईंले जिउँदो जनावर देख्नुभयो भने त्यो पूरै मलमूत्रले ढाकिएको हुन्छ । जथाभावी काट्ने गरिएका कारण जताततै रगत पनि लागेको हुन्छ,” इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले बताए । यो संस्थाले नयाँ रोगहरुबाट मानिसलाई जोगाउन तथा वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गरिरहेको छ । दासजाकले अधिक विश्वव्यापी यात्रा र व्यापारको सिलसिलामा मानिसको घुमफिर हुने भएपछि रोग फैलिने जोखिम बढ्नु स्वाभाविक रहेको बताए । ह्युस्टन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा अध्ययनरत पिटर लीले चिनियाँहरुले वन्यजन्तुको स्वाद लिन थालेको नयाँ हो भने । देशको आर्थिक बृद्धिका कारण मानिसमा नयाँ किसिमका पशुको स्वाद लिने प्रवृत्ति बढेको उनको भनाई छ । चिनियाँ सामाजिक सञ्जालमा यतिखेर केही सीमित धनी वर्गको असन्तुष्टिले आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको र जोखिम बढाएको भन्दै तिब्र आलोचना भइरहेको छ ।

“यो दोस्रो पटक हो … पहिलो सार्स हो, यस पटक उहानमा देखियो । हामी तेस्रो पटक यस्तो चाहँदैनौं,” सिचुआनबाट लाई जिनपिङले फोनमा बताए । “हामी उनीहरुलाई घृणा गर्दछौं,” ३६ वर्षीया गृहिणी ताओ यीवेईले भने । उनी पनि वन्यजन्तुको बेचबिखनमा अस्थायी होइन, स्थायी प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिन्छन् । यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जोखिम निम्त्याउने वन्यजन्तुको अवैध कारोबारलाई “पूर्णरुपले अवैध र कडाइका साथ प्रतिबन्ध” लगाउने घोषणा गरेका छन् । पूर्वी प्रान्त आन्हुईमा अधिकारीहरूले जंगली ब्याजर र मुसाहरुको फार्म चलाउन प्रतिबन्ध लगाएका छन् । तियानजिन बन्दरगाहमा वन्यजन्तुको बिक्रीमा संलग्न रहेको आरोपमा छजना व्यापारीलाई गिरफ्तार गरेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार हुवेईमा कोरोनाको सङ्क्रमण देखिएपछि देशभर करिब १५ लाख बजार र अनलाइन संचालकको अनुगमन र जाँच गरिएको छ । करिब ३ हजार ७०० पसल बन्द गरिएका छन् भने करिब १६ हजार प्रजनन साइटलाई घेराबारा गरिएको छ । यी उपायहरू आगामी दिनमा कसरी निरन्तरता पाउँछन् भन्ने अद्यापी स्पष्ट छैन । यो प्रकोप सुरु हुनुभन्दा अघि चीनमा ५४ प्रजातिका पशुपक्षी बेच्न अनुमति थियो । तर घरपालुवा वा जङ्गली हुन् भन्ने छुट्याउन भरपर्दो व्यवस्था नहुँदा समस्या थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width