वडा नम्वर १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना

Avatar आदर्श समाज सम्वाददाता
फागुन ४, २०७६

पोखरा ।पोखरा महागनरपालिका वडा नम्वर १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुबै वडामा केन्द्र स्थापना गरेको हो ।

केन्द्रको उद्घाटन गर्दै पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिनुपर्ने बताइन् । मेलमिलापकर्ताले विवादका दुबै पक्षलाई मिलाउने गरी वातावरण सृजना गर्नुपर्नेमा जोड दिइन् । मुद्दा मार्मिला गरेर भन्दा मिलेर जादाँ समाजमा सद्भाव र एकता कायम हुने उनको भनाइ छ । न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउँने र ११ वटा विवादमा मेलमिलाप गराउँन सक्ने व्यवस्था संविधानले गरेको बताए । पोखरा २४ का अध्यक्ष ओम सुवेदीले केन्द्र स्थापनाले वडाका विवाद समस्या समाधानमा सहज हुने बताए ।

कार्यक्रममा पोखरा १८ का अध्यक्ष रणबहादुर थापा, न्यायिक समिति सदस्य पार्वती कार्की, नेकपा वडा कमिति अध्यक्ष पुष्कल थापा, मेलमिलापकर्ता कृष्णप्रसाद सुवेदी, महानगरका कानून अधिकृत राममणि अधिकारी लगायतले बोलेका थिए ।