कला, संस्कृति, भाषा र पूर्वजको योगदान जोगाउन सके समृद्धि’

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
Samsad adhikari

पोखरा । संघीय सांसद खगराज अधिकारीले कला, संस्कृति, भाषा र पूर्वजको योगदानलाई जीवन्त राख्न सके समृद्धि आउने बताएका छन् ।जहरसिंह प्रतिष्ठान कास्कीले गरेको कार्यक्रममा गाउँका सिंह जहरसिंह पुस्तक लोकापर्ण गर्दै उनले त्यस्तो बताए । उनले जहरसिंह खत्रीले परम्परागत औजारका भरमा ७२ हात लामो भूमिगत कुलो बनाउने काम चानचुने नभएको जनाए ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले जहरसिंह केसीको काम आजको पुस्तालाई कथा जस्तो लागे पनि वास्तविकता पुस्तकले प्रमाणित गरेको जनाए । समाजका रूपान्तरणका लागि प्रेरणा दिने व्यक्तिलाई समाजले नै सम्झनुपर्ने उनको भनाइ थियो ।रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपा क्षेत्रका सम्पूर्ण सडक कालोपत्रे भएको र आगामि वर्ष चालु अवस्थामा रहेको जहरसिंहको जहरे कुलोलाई गाउँपालिकाले बजेट विनियोजन गरेर संरक्षण गर्ने बताए ।

त्रिभूवन विश्वविद्याल इतिहास विभागका विभागीय प्रमुख प्रा.डा. भवेश्वर पंगेनी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामबाबु सुवेदी, लेखक तथा सम्पादक, डा. बासुदेव काफ्ले, सहप्राध्यापक प्रियम्वदा आचार्य काफ्ले, समाजसेवी ऋषिकेश पौडेललगायतले जहरसिंह खत्रीको व्यक्तित्व र योगदानका बारेमा बोलेका थिए । ४७ वर्ष लगाएर समाग्री सङ्कलन गरी ६५ वर्षपछि पहिलो पटक स्मृति दिवसका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । जहरसिंह खत्रीको जन्म वि.सं. १९४६ सालमा कास्की जिल्लाको रूपा गाउँपालिका वडा नं. ३ पोल्याङटार साविक सिद्ध गाउँमा भएको हो । उनको मृत्यु ६५ वर्षको उमेरमा २०११ साल फागुण २ गते भएको थियो। कुलो अभियन्ता जहरसिंहले, उद्यमशीलता, औषधिमूलो, न्यायसम्पादनलगायत सामाजिक सुधारका क्षेत्रमा योगदान गरेका थिए ।

कान्छा छोरा ई. रामबहादुर केसीले नाम कमाउने उद्देश्यले नभई बुबाले राखेको कृतिलाई अध्ययन सामग्रीका रूपमा पुस्तक तयार पारिएको बताए । उनले पुस्तकका लागि २०३० सालदेखि प्रमाणसहितका सामग्री खोजी गरेका हुन् । अबका दिनमा प्रतिष्ठान सामाजिक क्षेत्रमा सक्रिय रहने उनको भनाइ छ । कार्यक्रममा सांसद खगराज अधिकारीले जहरसिंह खत्रीकी छोरी द्रौपदा कार्कीलाई अभिनन्दन गरेका थिए । प्रतिष्ठानका संयोजक ई.रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा लेखक राजन गोदारले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width