प्रेम दिवसमा प्रेमको प्रतिक रानी महल (फोटो एस्से)

Suraj Hazare Dahal
फागुन २, २०७६
1 Raani Mahal

सुरज हजारे दाहाल :  प्रदेश नं ५ को पाल्पा जिल्ला स्थित रानी घाटमा रहेको रानी महल प्रेमको प्रतिकको एक सुन्दर बास्तुकला हो ।  रानी महलको निर्माण जनरल खड्ग शमशेरले विसं १९५४ मा आफ्नी रानी तेजकुमारीको सम्झनामा गरेका थिए । पश्चिमी युयानी शैलीमा निर्मित यस महललाई बेलायती इन्जिनियरले डिजाइन गरेका थिए । २००७ सालमा राणा शाषणको पतनपछि भने रानी महलको संरक्षण नगरिदाँ यो जिर्ण भएको थियो । २०५४ सालमा जिर्णोद्धार शुरु गरि २०७४ मा पुननिर्माण सम्पन्न गरिएको थियो ।  यो महल सदरमुकाम तानसेनबाट १६ किमी दूरीमा अवस्थित छ ।

रानी महलमा उज्यालो निलो र सेतो रङ पोतिएको छ भने छाना रातो रङको छ । प्रेमको प्रतिक मानिएको रानी महल हेर्न धेरै आन्तरिक पर्यटक र केही बिदेशी जाने गर्छन् । सार्वजनिक बिदाको दिन तथा भ्यालेन्टाइन डेको दिन रानी महलमा युगल जोडी आउँने गर्छन् । खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको हुँदा विशेष गरि यहाँ युवायुवतीको भिड लाग्ने गर्छ ।काली गण्डकी नदीको विशाल चट्टानमा निर्मित रानी महलको नक्सा १२० वर्ष अगाडि नै बेलायती डिजाइनरले कोरेका थिए । महलको उँचाई ११२ फिट तथा चौडाइ ५६ फिट रहेको छ । महलको उत्तर भएर नदी बग्ने भएकोले धार्मिक रुपमा पनि यस क्षेत्रलाई पवित्र मानिन्छ ।

महलको देब्रे भागमा फूलबारी रहेको छ भने दाहिने भागमा नदी हेर्नको लागि बनाइएको एकतले टावर छ । पानी पोखरी तथा मन्दिर पनि रानी महलको अर्को आकर्षक केन्द्र हो । तल्लको भागबाट महल जाँदा भने शुरुमा पानीको फोहरा देखिन्छ । महलको भुँइ तल्लामा खड्ग शमशेरले पुजा गर्ने कोठा, पहिलो तल्लामा बैठक कोठा र उपल्लो तल्लामा उनको सुत्ने कोठाहरु रहेका छन् । इतिहासमा पढिएका प्राय प्रेमिल कथामा आँशु पनि रहे झँै रानी महलमा प्रेमसँगै रोदन रहेको छ । विसं १९४३ सालमा खड्ग शमशेरले वीर शमशेरको हत्या गरि श्री ३ बन्ने षड्यन्त्र असफल भएपछि उनलाई अर्घाखाँची निकाला गरिएको थियो । तर १९४५ मा वीरले उनलाई पाल्पाको कमाण्डिङ जर्नेल बनाइदिए ।

उतै विवाह गरेकी उनकी रानी तेजकुमारीको १९४९ मा सालमा कपाल कोर्ने क्रमममा लडेर मृत्यु भएको थियो । आफ्नी प्राण प्रिय रानीको मृत्युले उनी स्तब्ध भएका थिए । कालीगण्डकीमा दाहसंस्कार गरेपछि सोही घाटलाई रानीघाट नामकरण गरि सोही ठाउँमा उनले रानी महल बनाएका थिए । १९५० मा निमार्ण प्रारम्भ गरि १९५४ मा रानी महलको निर्माण सम्पन्न भएको थियो । साथै महल पुग्न तानसेनदेखि घोडेटो बाटो समेत खड्ग शमशेरले बनाएका थिए ।

आफैंले निमार्ण गरेको महलमा ५ वर्ष पनि बस्न नपाउँदै खड्ग शमशेर भारत भाग्न बाध्य भएका थिए । विसं १९६० मा खड्ग शमशेरले श्री ३ अर्थात प्रधानमन्त्रीको पद हडपेर देश चलाउन खोजेको छनक चन्द्र शमशेरले पाएपछि उनले पाल्पामा सेना पठाएर खड्ग शमशेरलाई नियन्त्रण गर्न खोजेका थिए । सेना आउँने भनक पाए पश्चात सबै बहुमूल्य ढुकुटी लिएर खड्ग शमशेर भारत भागेका थिए ।

खर्च र बसाई ः पोखराबाट ४ घण्टाका बस यात्रामा पाल्पा पुगिन्छ । हरेक दिन बिहान ८ बजे पर्यटक बस पाल्पाको लागि छुट्छ । पाल्पा सदरमुकाम तानसेन बजारबाट बिहान ८ बजे एउटा जीप रानी महलका लागि छुट्छ । करिब १ घण्टामा जीप रानी महलमै पुग्छ । हिँडेर पनि गोडेटो बाटो तथा मूल सडक हुँदै करिब ३ घण्टामा रानी महल पुगिन्छ । महल आसपास रिसोर्ट र होटल छन् । एक रात तानसेन र अर्को रात रानी महलमा गरि सबै खर्च करिब रु ७००० लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width