वृक्षरोपण अभियानमा मुख्यमन्त्री

रासस
फागुन २, २०७६
HB-Pokhara-ChiefMinisterForestb

पोखरा, २ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो ६२औँ जन्मोत्सव शुक्रवार रुद्राक्षको बिरुवा रोपेर मनाएका छन् ।

पोखराको शहीदचोकस्थित मुख्यमन्त्रीको सरकारी निवास परिसरमा वृक्षरोपण गर्दै उनले पर्यावरणको संरक्षण हामी सबैको साझा दायित्व भएको बताए । “यस्तो अभियानले वातावरण संरक्षणमा विशेष योगदान पुर्याउँछ”, उनले भने “यस अभियानलाई ठाउँ विशेषमा मात्र नभई राष्ट्रव्यापी पुर्याउनु आवश्यक छ, यसले समग्र हरियाली बढाउन पनि मद्दत गर्दछ ।”

मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेका प्रदेशसभा सदस्य, अभियानकर्मी, उच्चपदस्थ कर्मचारी आदि वृक्षरोपणमा सहभागी भएका थिए । समितिका तर्फबाट मुख्यमन्त्री गुरुङलाई २१ बुँदे अभियानको उद्देश्य समेटिएको अवधारणापत्र हस्तान्तरण गरिएको थियो । अभियानअन्तर्गत प्रत्येक वर्ष जन्मदिनको दिन एक नेपाली एक वृक्षरोपण गर्ने संस्कार स्थापित गर्ने प्रयास गरिएको अध्यक्ष सेढाईंको भनाइ छ । मानवीय कारणले भइरहेका जल, माटो एवं हावा प्रदूषण कम गर्न सम्पूर्ण उपायको खोजी गर्नु अपरिहार्य भएको बताउँदै उनले अभियानमार्फत प्रदूषण नियन्त्रणका साथै वातावरण स्वच्छता कायम गर्न जनचेतनामूलक कार्यक्रम गर्ने उनले बताए ।

समितिले यस अवधिमा विभिन्न तह र तप्काका व्यक्तिको जन्मदिनमा तत्तत् ठाउँमा पुगी ४४ वटा कपुर, रुद्राक्ष, अशोकालगायतका बिरुवा रोपिसकेको छ । उनका अनुसार समितिको संयोजनमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नाे  १०१औँ जन्मदिवसका अवसरमा निजी निवास लैनचौर परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए । समितिले यसबीचमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सर्वसाधारण आदिको जन्मदिनमा वृक्षरोपण गर्ने कार्यक्रम संयोजन गर्दै आएको छ । अभियानलाई व्यापक बनाउन देशैभरका स्थानीय निकायका वडा, गाउँ एवं टोलमा अभियान समिति गठन गर्ने लक्ष्य राखिएको छ । फलफूल, जडीबुटी, कृषिजन्य उत्पादन र वनजन्य उत्पादनलाई पुनःरोपण पद्धतिद्वारा राज्यलाई आत्मनिर्भर बनाउन बजारीकरण गरी आर्थिक लाभ लिने समितिको सोच छ ।

यसबीचमा अभियानलाई लमजुङ, कास्की, काठमाडाैँ, धनगढी, दाङलगायतका जिल्लामा पु¥याइसकिएको समितिका उपाध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी दिए । नेपाललाई अन्तर्रा्ष्ट्रिय जगत्मा वातावरणमैत्री र प्रकृतिको संरक्षण गर्ने मुलुकका रूपमा परिचित गराउनु अभियानको लक्ष्य भएको बताउँदै उनले अन्य देशमा समेत जन्मदिनमा वृक्षरोपण गर्नुपर्दछ भन्ने संस्कारको विकास गर्न लागिने बताए । अभियानसँगै गरिएको वृक्षरोपण विभिन्न स्थानमा सफल भएको दाबी गर्दै समितिले ९० प्रतिशत बिरुवा राम्रोसँग हुर्किरहेको जनाएको छ । वृक्षरोपण भएका बिरुवाको संरक्षणमा पनि समितिले चासो दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सेढाईंले गोडमेल एवं संरक्षणका लागि स्थानीयलाई अभिप्रेरित गर्दै आफूले अनुगमन गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width