म्याग्दीको रघुगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

साधन राम्जाली
फागुन २, २०७६
Raghu Ganga Running Shield

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा पिप्लेस्थित रघुगंगा माविमा विहीबारदेखि शुरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्रछात्रा दोड गरिएको थियो ।

उक्त दौडमा छात्रतर्फ रघुगंगा माविका समिर राना प्रथम, मुक्तिधाम माविका मनोज बरुवाल दोस्रो र रितुङ माविका मिलन गर्वुजा तेस्रो बनेका छन् । उक्त स्पर्धामा छात्रातर्फ ज्ञानोदय माविकी निसा रिजाल प्रथम, रितुङ माविकी हरिमायाँ छन्त्याल दोस्रो र मुक्तिधाम माविकी लिलाकुमारी केसी तेस्रो हुन सफल भएका छन् । उनीहरुलाई नगद सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका आठवटै वडाका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको शिक्षा तथा खेलकुद शाखा संयोजक प्रेम थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ ईभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको हरेक ईभेन्टमा स्वर्ण, रजत र कांस्य पदक बिजेतालाई ५ सय, ४ सय र ३ सयको दरले पुरस्कृत गरिने जनाइएको छ । गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तरीय हँुदै प्रदेश र राष्ट्रियस्तरमा समेत सहभागिता जनाउन पाउनेछन् ।

शुक्रबारसम्म संचालन हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पुरसकार पाउनेछन् । त्यसैगरि प्रतियोगितामा उपविजेताले ४० हजार रुपैयाँ र तेस्रो हुने टिमले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद केसीले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलमैदान’को नीति लिएको बताउँदै गाउँपालिकाबाट हुने सिफारिसको आधारमा खेलमैदान निर्माण योजनामा बजेट विनियोजन गर्न पहल गर्ने आश्वासन दिए ।

विद्यार्थीहरुको हौसलाको लागि हरेक ईभेन्टमा प्रोत्साहनको पुरस्कार राखिएको गाउँपालिकाका अध्यक्ष भवहादुर भण्डारीले बताए । अध्यक्ष भण्डारीले गाउँपालिकाले खेलकुद विकासको लागि बजेट विनियोजनसँगै नीति बनाउने तथा कार्यक्रम संचालन गरेको बताए । खेलकुद विकास तथा खेलाडीलाई प्रोत्साहनका लागि गाउँपालिकाभित्र खेलमैदान निर्माणलाई तीब्रता दिएको उनको भनाई थियो ।

कार्यक्रममा नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी, नेपाली काँग्रेसका उपसभापति माधव रेग्मी, राप्रपाका अध्यक्ष बीरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललगायतले बोलेका थिए । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले स्वागत गरेको कार्यक्रम, वडा नम्बर ३ का वडाध्यक्ष एवं गाउँ कार्यपालिका प्रवक्ता जीवनकुमार मल्लले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width